मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसइईमा उत्कृष्ट भएका तारकेश्वरका विद्यार्थीहरूलाई सम्मान

setopati.com · Sun May 24 04:34:00 GMT 2026

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण भएका काठमाडौंको तारकेश्वर नगरपालिकाका विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

शनिबार 'परिवर्तन अभियान नेपाल' ले तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको हो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरू नै देशको भविष्य भएको बताएका थिए।

उनले शिक्षामा केवल किताबी ज्ञान मात्र नभई अनुशासन र नैतिक मूल्य मान्यताको पनि उत्तिकै महत्त्व हुनेमा जोड दिए। नेता केसीले विद्यार्थीहरूलाई जीवनको यो नयाँ खुट्किलोमा सही निर्णय लिन र आफ्नो रुचि अनुसारको विषय छनोट गर्न सुझाव दिए।

राप्रपा सांसद खुश्बु ओलीले सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिइन्। सांसद ओलीले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न सुझाव दिँदै आफूले १६ वर्षकै उमेरदेखि काम गर्न थालेको अनुभव सुनाइन्।

उनले भनिन्, 'पढाइसँगै सीप र काम गर्ने बानी बसाल्नुस्, यसले तपाईंलाई आर्थिक रूपमा मात्र होइन, अनुशासित पनि बनाउँछ।'

रास्वपा सांसद केपी खनालले आफ्नो बाल्यकालदेखिको सामाजिक यात्रा स्मरण गर्दै विद्यार्थीहरूलाई स्वदेशमै भविष्य खोज्न आग्रह गरेका थिए।

नेपाली कांग्रेसका सचेतक निष्कल राईले विद्यार्थीहरूलाई राजनीतिक र सामाजिक रूपमा सचेत रहँदै देश विकासमा लाग्न प्रेरित गरेका थिए।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले विद्यार्थीहरूका लागि संस्थाले आगामी एक महिनासम्म निःशुल्क शैक्षिक परामर्श उपलब्ध गराउने बताए।

आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूका लागि विभिन्न प्लस टु कलेजहरूसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउन पहल गर्ने उनले बताए।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले सामुदायिक र संस्थागत विद्यालयको नतिजामा सुधार आउनु खुसीको कुरा भएको बताएकी थिइन्।

नगरपालिकाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले उल्लेख गरिन्।

४ जीपीए ल्याउने विद्यार्थीहरूसहित सबै उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान पत्र उपलब्ध गराइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)