मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ सरकारको पहिलो बर्खामा 'जोखिम' कुरिरहेका राजमार्गहरू

bbc.com · Wed Jun 17 01:27:34 GMT 2026

सडक विभागले विभिन्न राजमार्गका ६१२ स्थानलाई आगामी बर्खायाममा अवरुद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ।

विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सडक कार्यालयहरूलाई डोजर र एक्स्कभेटरसहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ।

गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरुद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। "अवरुद्ध नहुने गरी सबै प्रकारका उपाय अवलम्बन गर्ने भनेर हामीले परिपत्र गरेका छौँ," मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले भने।

काठमाण्डू-तराई द्रुतमार्ग: अन्योलको सुरुङबाट निस्किने अन्तिम जमर्को कि सेनाको छविमा 'धक्का'?

अरनिको राजमार्ग मर्मतका लागि चीनको अनुदान, के फरक पार्ला?

पूर्वपश्चिम महेन्द्र राजमार्ग 'हिलो हुने'

सडक विभागका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गमा पूर्वको काँकडभिट्टादेखि हेटौँडासम्मै कतै कालोपत्रे र कतै हिलो हुने जोखिम छ। हेटौँडादेखि नारायणगढसम्म अहिले विस्तार सुरु भएको छैन भने त्यसबाट पश्चिम बुटवलसम्म पनि विस्तारको काम करिब सकिएको छ।

सडक स्तरोन्नतिको काम भइरहेका कारण यो राजमार्गको बुटवल-गोरुसिङ्गे खण्ड पनि यो बर्खामा हिलो हुने जोखिम रहेको विभागका उपमहानिर्देशक श्यामबहादुर खड्का बताउँछन्।

त्यसभन्दा पश्चिमको खण्डमा पनि अहिले विस्तारको काम सुरु भएको छैन।

बीपी राजमार्ग अवरुद्ध हुने 'जोखिम'

खोला किनारबाट अस्थायी डाइभर्शन बनाएर सञ्चालन भइरहेको बीपी राजमार्गको भकुन्डेबेँसी-खुर्कोट खण्ड बर्खामा अवरुद्ध हुने जोखिम रहेको सडक विभागले जनाएको छ।

"बीपीमा काम भइरहेको छ। अहिले डाइभर्शन खोला किनारबाटै गइरहेको अवस्था छ। पानी बढ्दा त्यो डाइभर्शन बगाउने समस्या छ," खड्काले भने।

"त्यो सडकमा चाहिँ मौसम पूर्वानुमान हेरेर र सडक विभाग अनि प्रहरीसँग बुझेर मात्र जान सकिन्छ।"

उनले बर्खाअगाडि नै डाइभर्शनबाट जान नपर्ने गरी खोला किनारबाट उठाएर सडक बनाउने काम भइरहेको बताएका छन्।

पृथ्वी राजमार्गमा 'खासै समस्या छैन'

काठमाण्डूलाई पर्यटकीय राजधानी भनिने पोखरासँग जोड्ने पृथ्वी राजमार्गमा गत वर्षको तुलनामा यो पटक खासै समस्या नरहेको सडक विभागका प्रवक्ता खड्का बताउँछन्।

उनका अनुसार थानकोटबाट मुग्लिनसम्म ४२ किलोमिटर खण्ड कालोपत्रे भइसकेको छ। "बाँकीमा काम भइरहेको छ। पिच नभएका ठाउँमा हिलो हुने समस्या हुन सक्छ," उनले भने।

बीपी राजमार्गमा बर्खाका बेला गाडी चलाउन सरकारले बनाएको योजना

चिनियाँ सहयोगमा दोस्रो पटक चक्रपथ विस्तार हुँदा पहिलाभन्दा के फरक हुन्छ

विभागका अनुसार मुग्लिनबाट पोखरासम्मको क्षेत्रमा पनि केही स्थानमा पुलहरू बन्ने क्रममा रहेको बाहेक सडक कालोपत्रे भइसकेको छ।

"पहिरो जाने स्थानमा योजना बनाएरै उपकरणहरू तयारी अवस्थामा राखेर आवश्यकताअनुसार निजी क्षेत्रका उपकरण पनि परिचालन गरेर यातायात चालु गराउने योजना छ," उनले भने।

मध्यपहाडी राजमार्ग

पाँचथरको चियोभङ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म २६ वटा पहाडी जिल्लाहरू जोड्ने गरी फैलिएको मध्यपहाडी राजमार्ग अझै कतिपय खण्डमा कालोपत्रे हुन बाँकी छ।

कालोपत्रे नभएका स्थानमा साना सवारीसाधनका लागि यात्रा सहज नहुने अधिकारीहरू बताउँछन्।

सडक विभागका प्रवक्ता खड्काका अनुसार जाजरकोट, रुकुम पश्चिम र बागलुङ क्षेत्रमा यो सडकमा पहिरो जाने क्षेत्र पहिचान भएका छन्।

"मध्यपहाडीमा पनि अवरुद्ध हुन सक्ने क्षेत्रआसपास उपकरणहरू तयारी राख्न हामीले भनेका छौँ," उनले भने।

कर्णाली राजमार्ग

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूलाई लुम्बिनी प्रदेशको बाँकेसम्म जोड्ने कर्णाली राजमार्गमा पनि बर्खामा पहिरोले असर पार्न सक्ने तीन वटा स्थान पहिचान भएका छन्।

गगने खोला, दही खोला र एस मोड क्षेत्रलाई पहिरोको सबैभन्दा जोखिम क्षेत्रका रूपमा सडक विभागले पहिचान गरेको छ।

महाकाली राजमार्गमा पहिरो जाने केही स्थायी किसिमका स्थानहरू भए पनि सामान्य अवस्थामा यो राजमार्गमा धेरै समस्या नरहेको सडक विभागका अधिकारीहरू बताउँछन्।

मेची राजमार्ग

गत वर्षको बाढीका कारण क्षतिग्रस्त माईखोलाको राजदुवाली क्षेत्रमा सडक पुनर्निर्माणको काम नसकिएका कारण यो बर्खामा झापा र ताप्लेजुङ जोड्ने मेची राजमार्गको यो खण्ड पनि अवरुद्ध हुने जोखिम रहेको सडक विभागले औँल्याएको छ।

"यसपालि पनि पानी पर्‍यो भने त्यो ठाउँमा सावधानी अपनाउनुपर्छ," खड्का भन्छन्।

सिद्धार्थ राजमार्ग

पाल्पाको सिद्धबाबा क्षेत्रमा बनिरहेको सुरुङ मार्ग नसकिएका कारण यो बर्खासम्म सिद्धार्थ राजमार्गको यो क्षेत्र पनि यात्राका लागि जोखिमपूर्ण हुन सक्ने सडक विभागले जनाएको छ।

रूपन्देहीको सिद्धार्थनगरलाई पाल्पा र स्याङ्जा जिल्ला हुँदै कास्कीको पोखरा जोड्ने यो राजमार्गको सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट खसेका ढुङ्गा लागेर कैयौँले ज्यान गुमाइसकेका छन्।

"पानी परेको बेलामा र पानीलगत्तै घाम लागेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने जोखिम भएकाले यात्रुहरूले त्यसलाई ध्यान दिनुपर्छ," खड्का भन्छन्।

यो क्षेत्रको जोखिमपूर्ण क्षेत्रमा बनिरहेको एक किलोमिटरभन्दा लामो सुरुङमार्ग अन्तिम चरणमा पुगेको विभागका उपमहानिर्देशक खड्का बताउँछन्। अधिकारीहरूले आगामी बर्खाअघि नै यो सुरुङ सञ्चालनमा आउने दाबी गरेका छन्।

उपत्यकावरपरका सडकमा काम हुँदै

काठमाण्डू उपत्यकालाई प्रादेशिक राजधानी हेटौँडासँग जोड्ने चार वटा सडक सञ्जालमध्ये दुई वडा सडकखण्ड एक महिनाका लागि बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ।

फर्पिङबाट कुलेखानी निस्कने सडक र सतुङ्गलबाट चित्लाङ हुँदै कुलेखानी निस्कने सडक मर्मतका लागि एक महिनाका लागि बन्द रहने प्रहरीको सूचनामा उल्लेख छ।

त्यसबाहेक नौबिसे र दामन हुँदै हेटौँडा जाने त्रिभुवन राजपथमा यो बर्खामा केही स्थानमा पहिरोको जोखिमबाहेक उल्लेख्य समस्या नरहेको सडक विभागले जनाएको छ। ललितपुरको चापागाउँबाट टीकाभैरव हुँदै हेटौँडा निस्कने कान्ति राजमार्गमा पनि पहिरोका जोखिम क्षेत्रहरू पहिचान गरिएको विभागका प्रवक्ता खड्काले बताएका छन्।

'इन्धन बचतका लागि' नागढुङ्गा सुरुङमार्ग अस्थायी सञ्चालनमा ल्याउने उपाय कति व्यावहारिक

विद्युतीय गाडीको भाडा अरूको भन्दा छुट्टै हुनुपर्ने माग कति उपयुक्त?

काठमाण्डूलाई चिनियाँ सीमासम्म जोड्ने अरनिको (कोदारी) राजमार्गमा पनि दोक्लाङ क्षेत्रमा पहिरो जाने तीन वटा क्षेत्र पहिचान भएका छन्। त्यस्तै रसुवागढी नाका जोड्ने सडकको स्याफ्रुबेँसी-रसुवागढी खण्डमा पनि ठेक्का प्रक्रिया तोडिएका कारण हिलोलगायतका समस्या रहेको खड्काले बताए।

"सडक स्तरोन्नतिका लागि यसअघिको ठेक्का तोडेर नयाँ ठेक्काको काम अघि बढेका कारण यसमा काम ढिलो भएको हो," खड्काले भने।

पूर्वपश्चिम महेन्द्र राजमार्गभन्दा दक्षिणतर्फ तराई-मधेशका भित्री सहरहरू जोड्ने गरी बनिरहेको हुलाकी राजमार्ग कैयौँ स्थानमा बनिसक्न बाँकी रहेको सडक विभागले जनाएको छ। यो सडक बनेका कैयौँ स्थानमा कालोपत्रे समेत भइसकेको छ।

झापाको बाहुनडाँगीदेखि चुरे क्षेत्रका हेटौँडासहितका बजार हुँदै डडेलधुराको रुपालसम्म निर्माणाधीन अवस्थामा रहेको मदन भण्डारी राजमार्ग पनि कैयौँ स्थानमा बनिसक्न बाँकी छ। यो राजमार्गका केही खण्डहरू भने कालोपत्रे भइसकेको सडक विभागले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)

सम्बन्धित विषय