रास्वपा सभापति रवि लामिछानेको दिल्ली यात्रा कूटनीतिक चासोको केन्द्रमा
kalakarmi.com · Sun May 24 06:05:44 GMT 2026

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी साता भारत भ्रमणमा जाने भएका छन् । भारतको विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई वर्तमान सरकार गठनपछि नेपाल-भारत सम्बन्धको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
जुन १ र २ जेठ १८–१९ मा हुने भ्रमणका क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्रीलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको रास्वपा स्रोतले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुन सक्ने चर्चा भए पनि त्यसबारे अन्तिम टुंगो लागिसकेको छैन ।
लामिछानेको भ्रमण पार्टीगत भएकाले उनलाई भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा स्वागत गर्ने तयारीसमेत गरिएको छ । त्यहाँ उनले भाजपाका अध्यक्ष नितिन नवीनसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारतले यसअघि पनि नेपालका प्रमुख दलका शीर्ष नेताहरूलाई विदेश मन्त्रालयमार्फत निमन्त्रणा गर्दै आएको छ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यस्तै प्रकृतिको भारत भ्रमण गरिसकेका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण अनिश्चित बनेको अवस्थामा लामिछानेको दिल्ली यात्रा हुन लागेको हो । सरकार गठनपछि रास्वपा नेतृत्वबाट हुन लागेको यो पहिलो औपचारिक भारत भ्रमणलाई कूटनीतिक चासोका साथ हेरिएको छ ।
यसैबीच भारत र चीनले लिपुलेक नाका हुँदै व्यापार पुनः सञ्चालन गर्ने घोषणा गरेपछि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएर आपत्ति जनाएको छ । वालेन सरकार गठनयता नेपाल–भारत सम्बन्धमा अपेक्षित प्रगति हुन नसकेको टिप्पणी भइरहेका बेला लामिछानेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
बालेन्द्र शाह