नेपालमा ‘एल निनो’ प्रभाव
gorkhapatraonline.com · Wed Jun 17 01:46:08 GMT 2026

नेपालको जल तथा मौसम विज्ञान विभागले जारी गरेको मनसुन अवधिको मौसमी विवरणमा यस वर्ष देखिने ‘एल निनो’ प्रभावलाई प्रस्ट रूपमा उल्लेख गरिएको छ । यसको प्रभावले यस वर्षको मनसुन र वर्षाको अवस्था अघिल्ला वर्षमा देखिनेभन्दा फरक हुने प्रक्षेपण छ । ‘एल निनो’ भनेको एक प्राकृतिक जलवायु चक्र हो र यसले विश्वभरिको मौसम र तापक्रममा ठुलो फेरबदल ल्याउँछ । यो प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी बढ्दा उत्पन्न हुन्छ । प्राकृतिक रूपमा हुने गरेका अनौठा र फरक प्रकृतिका घटना जस्तै यो पनि एक विशिष्ट प्राकृतिक घटना हो । यो ‘एल निनो’ दक्षिणी प्रशान्त महासागरमा हुने गरेको अस्वाभाविक चालका कारण सामुद्रिक तापक्रमको फरकपन हो । यसका कारण परिवर्तित तापक्रममा समुद्र र वायुमण्डलबिचको ऊर्जा तथा आद्र्रताको चक्रमा परिवर्तन आउँछ र विश्वका विभिन्न भागको मौसम र जलवायु प्रणालीलाई प्रभावित गर्छ । सामान्यतया यो प्रभाव हरेक वर्ष आउने खालको हुँदैन । दुई वर्षदेखि सात वर्षसम्मको फरकमा यो प्रभाव प्रशान्त महासागरमा देखिने गरेको छ । प्रशान्त महासागर नेपालसँग प्रत्यक्ष जोडिएको छैन र यसको प्रत्यक्ष प्रभाव नेपालमा हुँदैन तर नेपालको मौसमी अवस्था दक्षिण एसियाली मौसमसँग जोडिएको र दक्षिण एसियाली मौसम ‘एल निनो’ प्रभावसँग जोडिएको छ । त्यही भएर नेपालमा पनि यसको प्रभाव प्रत्यक्ष नभए पनि दक्षिण एसियाली मनसुन प्रणालीमार्फत परोक्ष रूपमा प्रभाव पर्ने देखिन्छ ।
सामान्य अवस्थामा प्रशान्त महासागरमाथि पूर्वबाट पश्चिमतर्फ चल्ने नियमित हावाले तातो पानीलाई पश्चिमी प्रशान्त क्षेत्रमा थुपार्ने गर्छ । यसले इन्डोनेसिया र वरपरका क्षेत्रमा बादल र वर्षाको मात्रा बढाउँछ तर ‘एल निनो’ को प्रभावले हावाको शक्ति कमजोर बन्छन् वा दिशा परिवर्तन गर्छन् । हावा कमजोर बनेको वा दिशा परिवर्तन गरेको अवस्थामा तातो पानी पूर्वी प्रशान्ततर्फ सर्छ र वायुमण्डलीय चाल प्रणाली कमजोर हुन्छ । यसले मूलतः प्रशान्त क्षेत्र तथा सम्पूर्ण वायुमण्डलको वर्षा र तापक्रमको औसत अवस्थामा परिवर्तन ल्याउँछ । नेपालको जलवायु मुख्य रूपमा दक्षिण–पश्चिम मनसुनमा निर्भर छ । नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत भाग असारदेखि असोजसम्मको मनसुनबाट प्राप्त हुन्छ । ‘एल निनो’ सक्रिय हुँदा मनसुनको समयमा पर्ने वातावरणीय अवस्थामा फरकपन आउँछ । यतिबेला मनसुन कमजोर हुने, ढिलो प्रवेश गर्ने वा समयभन्दा चाँडो अन्त्य हुने सम्भावना बढ्छ । यसको परिणाम नेपालका धेरै भागमा औसतभन्दा कम वर्षा हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मौसम