ट्युनिसियाका प्रशिक्षक साब्री लामोची बर्खास्त
kendrabindu.com · Wed Jun 17 02:03:57 GMT 2026

लस एन्जलस । ट्युनिसियाले विश्वकपमा आफ्नो पहिलो खेलमा स्विडेनसँग ५–१ को पराजय भोगेपछि प्रमुख प्रशिक्षक साब्री लामोचीलाई बर्खास्त गरेको छ।
मेक्सिकोको गुएडालुपमा आइतबार भएको खेललगत्तै उनलाई हटाइएको बताए पनि सोमबार उनी प्रशिक्षणमा सहभागी थिए। तर, ट्युनिसिया फुटबल संघले आपसी सहमतिमा ५४ वर्षे फ्रान्सेली प्रशिक्षक लामोचीसँगको सम्झौता रद्द गरिएको जनाएको छ। उनको स्थानमा फ्रान्सका अर्का प्रशिक्षक हेर्भे रेनार्डलाई प्रमुख प्रशिक्षक बनाइएको छ। रेनार्डको प्रशिक्षणमा साउदी अरेबियाले २०२२ को विश्वकपको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरी सनसनी नतिजा निकालेको थियो।
लामोची विश्वकप इतिहासमा एक खेलपछि नै बर्खास्त हुने पहिलो प्रशिक्षक भएका छन्। ट्युनिसियाले नै १९९८ को विश्वकप यात्रामा दुई खेलपछि व्यवस्थापक हेनरिक कास्पेर्कजाकलाई खराब सुरुआतका कारण बर्खास्त गरेको थियो। सोही प्रतियोगितामा दक्षिण कोरियाले चा बुम कुनलाई पहिलो दुई खेलमा पराजय भोगेपछि बर्खास्त गरेको थियो।
सन् २०१८ मा स्पेनले जुलेन लापेटेगुईलाई विश्वकप सुरु हुनु दुई दिनअघि बर्खास्त गरेको थियो। राष्ट्रिय टोलीमा केन्द्रित हुनुपर्ने तर त्यही दौरान रियल म्याड्रिडको व्यवस्थापक बन्न सहमति जनाएपछि स्पेन नयाँ प्रशिक्षकतिर लागेको थियो। तर ट्युनिसियाले प्रशिक्षक हटाएको यो पहिलो अवसर हो, जहाँ विश्वकपमा आफ्नो टोली ओरालेको एक खेलपछि प्रशिक्षक बर्खास्तगी भएको थियो।
लामोची ५ महिना अघिमात्र ट्युनिसियाको प्रशिक्षक बनेका थिए। अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ को खेलमा मालीसँग पराजित भएपछि ट्युनिसियाले सामी ट्राबेल्सीलाई हटाएर जनवरीमा लामोचीलाई जिम्मेवारी दिएको थियो। स्विडेनसँगको हारपछि बोल्दै लामोचीले हार ‘दुःखदायी’ भएको जनाएका थिए। ‘प्रतियोगिताको सुरुआत यस्तो खाले खराब नतिजाबाट गर्दा कठिन भइहाल्छ,’ लामोचीले भनेका थिए, ‘हामीले धेरै गल्ती गरेका थियौं, जुन हामीले यसअघि गर्दैनथ्यो। हामीले आफ्नै खुट्टामा प्रहार गरिरहेका थियौं, आफैलाई दुखित बनाएका थियौं।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)