रोमका ‘ग्लाडिएटर’ फ्रान्सेस्को टोट्टी: जसले भाँचिएको खुट्टाले इटालीलाई विश्व विजेता बनाए
newsofnepal.com · Wed May 06 17:20:35 GMT 2026
आधुनिक फुटबलको इतिहासमा सन् २००६ को विश्वकप केवल एक खेल प्रतियोगिता मात्र थिएन । मानवीय साहस, दृढ इच्छाशक्ति र विज्ञानको सीमालाई चुनौती दिने एक अविश्वसनीय पुनरागमनको उदाहरण पनि थियो । जसको केन्द्रमा थिए, इटालीका महान खेलाडी फ्रान्सेस्को टोट्टी । उनले आफ्नो खेल जीवन समाप्त हुनै लाग्दा मृत्युतुल्य पीडा र शारीरिक असक्षमतालाई जितेर विश्वकपको ट्रफी उचालेका थिए । १९ फेब्रुअरी २००६ को त्यो दिन, जब एम्पोली विरुद्धको सिरिए ए खेलमा विपक्षी खेलाडी रिचर्ड भानिग्लीको एउटा भयानक ट्याकलले टोट्टीको देब्रे खुट्टा छियाछिया पारिदियो, सारा फुटबल जगत स्तब्ध भयो । उनको फिलाको हड्डी (फिबुला) नराम्ररी भाँचिएको थियो र खुट्टाका लिगामेन्टहरू पूर्ण रूपमा च्यातिएका थिए । मैदानमा लड्दा सुरुमा उनले केही महसुस गरेनन्, किनकि उनको स्नायु प्रणाली नै विच्छेद भइसकेको थियो । तर, जब उनले आ्फ्नै खुट्टा लल्याकलुलुक भएको देखे, सारा इटालीयन समर्थकको मुटु थर्कियो ।
विश्वकप आउन केही महिना मात्र बाँकी छँदा इटालीको सबैभन्दा ठूलो आशा र भरपर्दो ‘इल् क्यापिटानो’ अस्पतालको शैयामा पुग्नु राष्ट्रिय शोक जस्तै बनेको थियो । अस्पतालमा चिकित्सकहरूले टोट्टीको खुट्टालाई पुनः जोड्न १३ वटा धातुका स्क्रू र एउटा स्टिलको प्लेट प्रयोग गरेर दुई घण्टा लामो जटिल शल्यक्रिया गरे । चिकित्सा विज्ञानका अनुसार त्यति गम्भीर चोटबाट निको भएर व्यावसायिक फुटबलमा फर्कन वर्षौँ लाग्थ्यो । कतिपयले त उनको करियर नै समाप्त भएको आंकलनसमेत गरिसकेका थिए । तर, टोट्टीको शरीर आत्मविश्वासको अटुट भण्डारले भरिएको थियो । उनले हार स्वीकार्नुको सट्टा समयसँग युद्ध लड्ने निर्णय गरे । शल्यक्रियाको केही दिनमै उनले दिनको आठ घण्टाभन्दा बढी समय कडा पुनस्र्थापना (रिह्याबिलेसन) मा बिताउन सुरु गरे । खुट्टाको घाउलाई संक्रमणबाट जोगाउन प्लास्टिकले बाँधेर स्विमिङ पुलभित्र व्यायाम गर्नेदेखि लिएर आँसु झर्ने पीडादायी फिजियोथेरापीसम्म, उनले असम्भवलाई सम्भव बनाउन आफ्नो शरीरको अन्तिम थोपा पसिना बगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)