घर फर्कंदै विस्थापित परिवार
gorkhapatraonline.com · Wed Jun 17 02:58:33 GMT 2026

बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–३, लामापाटाका विस्थापित परिवार आफ्नो घर फर्कन थालेका छन् । गत जेठ ३ गते हुम्लाको खार्पुनाथ गाउँपालिका बासिन्दाले रानीसैन च्याँचौर लामापाटाका १० परिवारको घरघरमै पुगेर कुटपिट गर्न थालेपछि उनीहरू त्यहाँबाट विस्थापित भएका थिए ।
दुर्गमबस्ती भएको र सुरक्षाको कुनै व्यवस्था पनि नभएकाले उनीहरू त्यहाँबाट एक महिनासम्म आफन्तको सहारा लिएर गुम्बामा बस्दै आएका थिए । आफूहरू घर फर्किंदा सुरक्षा नभएको भन्दै उनीहरूले सुरक्षाका लागि बजुरास्थित जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै आएका थिए । गत जेठ ३० गते जिल्ला प्रशासन कार्यालयको पहल तथा गृह मन्त्रालयको आदेश अनुसार संयुक्त सुरक्षा बेस क्याम लामापाटामा स्थापना गरेपछि उनीहरू घरमा फर्किएका हुन् । गत जेठको पहिलो सातामा यहाँको सीमा सुरक्षा तथा वन्यजन्तु चोरी निकासी रोक्नका लागि हिमाली गाउँपालिकाको पहलमा प्रदेश सरकारको ४० लाख रुपियाँ लागतमा लामापाटामा अस्थायी प्रहरी चौकी निर्माणको सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)