आयरल्याण्डमाथि इंग्ल्याण्डको सहज जित
neplays.com · Wed Jun 17 03:02:00 GMT 2026
साउथह्याम्पटनमा वर्षाका कारण केही ढिलो गरी सुरु भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई चार विकेटले पराजित गर्दै टी–२० विश्वकपमा आफ्नो लगातार दोस्रो जित दर्ता गरेको छ । आयरल्याण्डले दिएको ११९ रनको सामान्य लक्ष्यलाई इंग्ल्याण्डले १५ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डको जित सहज देखिए पनि खेलको अन्त्यतिर कप्तान नेट सिभर–ब्रन्ट घाइते भएर मैदान बाहिरिएकी थिइन् ।
जितका लागि मात्र ९ रन आवश्यक भएको अवस्थामा बायाँ पिँडुलाको पुराना चोट बल्झिएपछि उनले मैदान छाडेकी थिइन् । उनले ३७ बलमा ४८ रनको उत्कृष्ट इनिङ खेलिन् । इसिबीले उनलाई सावधानीका लागि ‘रिटायर्ड हर्ट’ गराएको बताए पनि म्याच अफिसियलहरूले भने टी–२० विश्वकपको इतिहासमै पहिलोपटक उनलाई आधिकारिक रूपमा ‘रिटायर्ड आउट’ को रूपमा उल्लेख गरेका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिंग गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि ओर्ला प्रेन्डरगास्ट र लुइस लिटिलले समान २६–२६ रनको योगदान दिए । लिटिलले खेलको अन्तिम ओभरमा लरेन बेलविरुद्ध चारवटा चौका प्रहार गर्दै टोलीको स्कोरलाई १०० पार गराएकी थिइन् । आयरल्याण्डलाई सस्तोमा समेट्न इंग्ल्याण्डकी स्पिनर सोफी एकलस्टोनले २२ रन खर्चेर ३ विकेट लिइन् भने चार्ली डिनले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र ११ रन दिएर २ विकेट लिइन् । त्यस्तै लरेन बेल, लिन्से स्मिथ र ड्यानी गिब्सनले पनि उत्कृष्ट बलिङ गर्दै आयरल्याण्डका ब्याटरहरूलाई दबाबमा राखे ।
११९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको सुरुवात पनि निकै खराब रह्यो । पावरप्लेभित्रै ओपनरद्वय ड्यानी व्याट–हज, एमी जोन्स र एलाइस क्याप्सी सस्तैमा आउट भएपछि इंग्ल्याण्ड ३५ रनमा ३ विकेट गुमाएर संकटमा परेको थियो । तर, पूर्वकप्तान हेदर नाइट र वर्तमान कप्तान नेट सिभर–ब्रन्टले चौथो विकेटका लागि ६४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याए । नाइट २६ रन बनाएर प्रेन्डरगास्टको बलमा एलबीडब्लू आउट भइन् । त्यसपछि सिभर–ब्रन्ट मैदानबाट बाहिरिएपछि फ्रेसिया केम्प पनि रनआउट भइन्, तर ड्यानी गिब्सन र चार्ली डिनले सम्हालिएर खेल्दै टोलीलाई जित दिलाए । आयरल्याण्डका लागि प्रेन्डरगास्ट र एमी मगुइरेले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यसैबीच, साउथह्याम्पटनमा मंगलबार राति आयरल्याण्डविरुद्धको खेलमा जितको नजिक पुगेका मैदान छाडेकी इंग्ल्याण्डकी कप्तान नेट सिभर–ब्रन्टको अवस्थालाई लिएर टोली चिन्तित बनेको छ । आगामी शनिबार स्कटल्याण्डविरुद्ध हुने टी–२० विश्वकपको खेलमा उनी फिट हुनेमा इंग्ल्याण्ड क्रिकेट बोर्ड आशा व्यक्त गरे पनि उनको खेल्ने सम्भावना कम रहेको जनाइएको छ । गत अप्रिलको अन्त्यतिर घरेलु क्रिकेट खेल्ने क्रममा पनि उनलाई सोही बायाँ पिँडुलाको मांसपेशीमा समस्या आएको थियो, जसका कारण उनी विश्वकपको वार्म–अप खेलअघिसम्म टोली बाहिर रहेकी थिइन् । बुधबार उनको थप स्क्यान गरेपछि मात्र चोटको वास्तविक अवस्था थाहा हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
टी-२० विश्वकप