मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले अमेरिकासँगको सम्झौतालाई किन ‘विजय’का रूपमा प्रस्तुत गर्दै छ ?

baahrakhari.com · Wed Jun 17 03:59:23 GMT 2026

काठमाडौं । इरानको नेतृत्वले अमेरिकासँग हुन लागेको नयाँ सहमतिलाई ‘विजयको परिणाम’का रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ । इरानले पछाडि हटेको वा हार स्वीकार गरेको कदमका रूपमा नभई, आफ्नो प्रतिरोध र संघर्षको उपलब्धिका रूपमा प्रस्तुत गर्ने जनाएको छ । तर, यो दाबीलाई जनतामाझ विश्वासयोग्य बनाउनु त्यति सहज नभएको विश्लेषण गरिएको छ ।

हालै विनाशकारी युद्धबाट गुज्रिएको इरानको अर्थतन्त्र चरम दबाबमा छ । अर्कोतर्फ, जनताको एक हिस्साले अमेरिकासँग कुनै पनि प्रकारको सम्झौता गर्ने नीतिको महिनौँदेखि कडा आलोचना गर्दै आएको छ ।

वरिष्ठ इरानी अधिकारीहरूले यो सम्झौतालाई ठूलो विजयका रूपमा चित्रण गरेका छन् । संसद्का सभामुख तथा यस वार्तामा इरानका तर्फबाट प्रमुख भूमिका खेलेका मोहम्मद बाघेर कालिबाफले इरानले अन्तिम विजयतर्फ एक लामो कदम चालेको बताएका छन् ।

राष्ट्रपति मसुद पेजेस्कियानले यस समझदारीलाई सम्भावित परिवर्तनकारी कदमको संज्ञा दिएका छन् । उनका अनुसार, यदि यो पूर्ण रूपमा कार्यान्वयन भयो भने धेरै समस्याहरू समाधान गर्न सक्ने र इरान तथा मध्यपूर्वमा नयाँ परिस्थिति सिर्जना गर्न सक्नेछ ।

कालिबाफको समर्थनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । किनभने, उनको सार्वजनिक समर्थनले यस सम्झौताले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) भित्रका शक्तिशाली समूहहरूको समेत समर्थन प्राप्त गरेको संकेत गर्ने बताइएको छ ।

इरानी नेतृत्वले यस सम्झौतालाई विजयका रूपमा प्रस्तुत गर्नुको अर्को कारण अमेरिका र इजरायल आफ्नो मूल रणनीतिक उद्देश्य हासिल गर्न असफल भएको भन्ने तर्क गरिएको छ ।

इरानको दाबीअनुसार अमेरिका र इजरायलले न इरानलाई आत्मसमर्पण गराउन सके, न इस्लामिक शासन परिवर्तन गर्न सके ।ं न इरानको परमाणु कार्यक्रम अन्त्य गर्न सके र न हिजबुल्लाहसँग रहेको इरानको सम्बन्ध तोड्न सके । यसको विपरीत, इरान अझै पनि वार्ताको टेबलमा बलियो स्थितिमा रहेको तेहरानको दाबी छ । नयाँ सम्झौताको ढाँचामा लेबनानसँग सम्बन्धित सुरक्षा विषयहरू पनि समावेश गरिएको छ भने प्रतिबन्ध हटाउने विषयमा समेत छलफल अघि बढाइएको छ ।

तर, सरकारको यो आधिकारिक दाबीलाई इरानभित्रै चुनौती दिइँदै आएको छ । विभिन्न रिपोर्टअनुसार संसद्को राष्ट्रिय सुरक्षा समितिका उपसंयोजक रहेका एक कट्टरपन्थी सांसदले यस सम्झौताको मस्यौदालाई इरानलाई अमेरिकी उपनिवेश बनाउने दस्तावेजको संज्ञा दिएका छन् ।

उनले वार्ताकारहरूमाथि होर्मुज जलमार्गलाई व्यापारिक जहाजका लागि पुनः नखोल्ने सर्वोच्च नेताको निर्देशनलाई बेवास्ता गरेको आरोप पनि लगाएका छन् ।

यो आलोचना विशेष रूपमा महत्त्वपूर्ण मानिन्छ, किनकि यो बाहिरी विपक्षी समूहबाट नभई राष्ट्रिय सुरक्षाको निगरानी गर्ने राज्यकै आधिकारिक निकायभित्रबाट उठेको असन्तुष्टिको आवाज हो ।

#अमेरिका

#इरान

#सम्झौता

#विनाशकारी युद्ध

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय