मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३४ लाख मूल्य बराबरको अलैँचीका बिरुवा र सिँचाई सामग्री वितरण

nagariknews.nagariknetwork.com · Wed Jun 17 03:55:27 GMT 2026

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पालिकाको वडा नं २ फूलबारीका किसानले पाउने गरी अलैँचीका बिरुवा, सिँचाई सामग्री र स्प्रेयर सहितका सामग्री वितरण गरेको छ।

फूलबारीका करिब ५० परिवारले पाउने गरी अलैँचीका बिरुवा, सिँचाई सामग्री र स्प्रेयर सहितका सामग्री वितरण गरिएको पालिकाको कृषि विकास शाखा प्रमुख सञ्जु दाहाल पौडेलले जानकारी दिइन्।

दाहालका अनुसार पालिकाको १७ लाख र किसानको साझेदारी थप १७ लाख गरी कुल ३४ लाखको लगानीमा उक्त सामग्री वितरण गरिएको हो। रामसाई र भार्लाङ्गे प्रजातिका बिरुवा फूलबारी बहुउद्देश्यीय सहकारी संस्थामार्फत इलामबाट खरिद गरी किसानलाई वितरण गरिएको पालिकाको कृषि शाखाले जनाएको छ।

पालिकाका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ नेतृत्वको अनुगमन समितिले कार्यक्रमको अनुगमन पश्चात् गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू,प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशी, पालिकाको वडा नं २ फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ,कार्यपालिका सदस्य शारदाकुमारी बिमली सहितको उपस्थितिलाई किसानलाई अलैंचीको बिरुवा र सिचाँईका सामग्री वितरण गरिएको फूलबारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गुलसन प्रधानले जानकारी दिए।

अलैँचीका बिरुवा, सिँचाई सामग्री वितरण गर्दै पालिका अध्यक्ष पोमूले प्राप्त अनुदानको उचित सदुपयोगमा किसान संवेदनशील हुने र आर्थिक उर्पाजनमा ध्यान दिने विश्वास व्यक्त गरे।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय