अस्पताल, भवन जीर्ण
gorkhapatraonline.com · Wed Sep 09 03:34:48 GMT 2026

जिल्ला अस्पताल जाजरकोटको नवनिर्मित आवासीय भवन प्रयोगमा आउन नपाउँदै जीर्ण बनेको छ । भवनको जग तथा बाहिरी पेटी आसपासको जमिन भासिनुका साथै विभिन्न भागमा चिरा परेपछि प्रयोगमा आउन सकेको छैन । सम्झौता रकमको करिब ९३ प्रतिशत भुक्तानी भइसकेकाले क्षति मर्मतसँगै निर्माण कम्पनीको जिम्मा हुनुपर्ने कार्यालयको भनाइ छ । भवन निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना जाजरकोटले नासा निर्माण सेवा, कोहलपुर–११, बाँकेसँग २०८१ चैत २२ गते सम्झौता गरेको थियो । सात महिनाको अवधिमा निर्माण कार्य सम्पन्न सक्ने गरी एक करोड ३९ लाख ७६ हजार ६२७ रुपियाँमा सम्झौता भएको कार्यालयको लेखा शाखाले जनाएको छ ।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले भवन निर्माणमा सम्बन्धित कार्यालयले स्थान छनोट र गुणस्तरमा ध्यान दिन नसकेको बताउनुभयो । आयोजना जाजरकोटका इन्जिनियर रमेशकुमार यादवले निर्माणमा देखिएको समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई पुनः मर्मत गर्न ताकिता भइरहेकोे जानकारी दिनुभयो । भिरालो जमिनमा निर्माण गरिएको भवन वरिपरि पानी निकास तथा जमिन संरक्षणका संरचना पर्याप्त नहुँदा बर्सातको पानीका कारण जग आसपासको माटो कमजोर भएको हुन सक्ने यादवको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)