मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै ताराखोलाको नीति तथा कार्यक्रम सार्वजनिक

gorkhapatraonline.com · Wed Jun 17 04:42:35 GMT 2026

जिल्लाको ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि उत्पादनमुखी अर्थतन्त्र, स्थानीय रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा गुणस्तरीय शिक्षा–स्वास्थ्यलाई केन्द्रमा राख्दै महत्वाकाङ्क्षा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मङ्गलबार सम्पन्न गाउँपालिकाको २० औँ गाउँसभामा अध्यक्ष धनबहादुर विक (हिमाल) ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा “श्रम, सहकारी, पर्यटन, कृषि, उद्योग र पूर्वाधारः गुणस्तरीय स्वास्थ्य र शिक्षा, एक घर एक रोजगार” भन्ने मूल नारालाई केन्द्रमा राखिएको छ। नीति तथा कार्यक्रमले उत्पादन, रोजगारी र आत्मनिर्भरतामार्फत् समृद्ध ताराखोला निर्माणको दीर्घकालीन लक्ष्य अघि सारेको छ ।

गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन, सहकारी र स्थानीय उद्योगको विकासलाई आर्थिक समृद्धिको प्रमुख आधार मानेको छ ।प्रत्येक घरपरिवारलाई उत्पादन र आयआर्जनसँग जोड्ने, युवालाई गाउँमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्ने तथा महिला, दलित, जनजाति र विपन्न समुदायको सशक्तीकरणलाई प्राथमिकतामा राखिएको छ ।

आगामी वर्षदेखि ‘एक वडा एक उत्पादन’ कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ ।आलु, फापर, जौ, उवा, रातो धान, मकै, कोदो, सिमी, ओखर, अलैँची, चिया, स्याउ र किवीजस्ता बालीको व्यवसायिक खेती विस्तार गरिने नीति लिइएको छ ।

बसाइँसराइका कारण बाँझो बनेका जमिनलाई ‘भूमि बैङ्क’ मार्फत एकीकृत गरी सामूहिक अर्गानिक खेतीमा उपयोग गरिनेछ। कृषि यान्त्रिकीकरण, कृषि बीमा, बजार सूचना प्रणाली, उत्पादनमा आधारित अनुदान तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।

पशुपालन क्षेत्रलाई पनि व्यवसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित बाख्रा, भेडा, बङ्गुर, गाई, भैँसी र कुखुरापालन प्रवद्र्धन गरिनेछ।पशु स्वास्थ्य शिविर, नश्ल सुधार, खोप अभियान, घाँस खेती विस्तार, पशु बीमा र दुग्ध सङ्कलन केन्द्र स्थापना गरिने कार्यक्रम समेटिएको छ ।साथै ‘एक गाउँ एक पशु पकेट क्षेत्र’ कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।

स्थानीय स्तरमै रोजगारका अवसर विस्तार गर्ने उद्देश्यसहित गाउँपालिकाले ‘श्रम नै सम्मान’ अभियान र ‘एक घर एक रोजगार’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ ।

प्रत्येक परिवारको आर्थिक अवस्था अध्ययन गरी रोजगारी योजनासँग आबद्ध गरिने, कृषि, पर्यटन, घरेलु उद्योग र सेवा क्षेत्रमा रोजगारी सिर्जना गरिने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा जोडिने नीति लिइएको छ।

श्रम बैंकलाई व्यवस्थित बनाउने, रोजगार सूचना केन्द्र सञ्चालन गर्ने र सीपमूलक तालिममार्फत स्वरोजगारका अवसर विस्तार गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

अध्यक्ष हिमालद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले समृद्ध ताराखोलालाई ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ। होमस्टे सञ्चालनमा सहयोग, स्थानीय संस्कृति र परम्परागत खानाको संरक्षण, पर्यटन गुरुयोजना निर्माण तथा पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

पदमार्ग, विश्रामस्थल, दृश्यावलोकन केन्द्र तथा धार्मिक र ऐतिहासिक स्थलको संरक्षण र विकास गरिनेछ। त्यसैगरी शहीद पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा ‘ताराखोला पर्यटन महोत्सव’ आयोजना गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।शिक्षा क्षेत्रतर्फ विद्यालयको सिकाइ उपलब्धि सुधार, अंग्रेजी, विज्ञान र गणित विषयमा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ।

डिजिटल तथा प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार, विद्यालय बस व्यवस्थापन तथा कृषि, पशुपालन, कम्प्युटर र उद्यमशीलतासम्बन्धी प्राविधिक शिक्षा प्रवद्र्धन गरिने नीति लिइएको छ।

विद्यालय तहमा सीपमूलक शिक्षा लागू गर्नुका साथै कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि समेटिएको छ ।

दलित, जनजाति, अपाङ्गता भएका तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने छ ।सडक, पुल, ऊर्जा, सिँचाइ तथा भवन निर्माणका योजनालाई निरन्तरता दिँदै मुख्य सडकहरूको स्तरोन्नति, कालोपत्रे तथा ढलान कार्यलाई तीव्रता दिइने भएको छ ।

वन तथा जैविक विविधताको संरक्षण, वृक्षारोपण, फोहोर व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ ।

यस्तै, अनलाइन सेवा, डिजिटल अभिलेख व्यवस्थापन तथा कागजरहित प्रशासनलाई प्रोत्साहन गर्दै सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र नागरिकमैत्री बनाइने नीति लिइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष हिमालले कृषि, पर्यटन, रोजगार, सामाजिक न्याय, पूर्वाधार विकास र सुशासनलाई एकीकृत रूपमा अघि बढाएर समृद्ध ताराखोला निर्माणको बलियो आधार तयार हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)