मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिमा बन्द हुँदा सरकारी अस्पतालमा बिरामीको चाप

gorkhapatraonline.com · Wed Jun 17 04:47:23 GMT 2026

चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिरामीको चाप अस्वाभाविक रूपमा बढेपछि अस्पताल प्रशासनलाई सेवा व्यवस्थापन गर्न कठिनाइ हुन थालेको छ ।

चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा स्वास्थ्य बिमा सेवा बन्द भएपछि बिमित बिरामीहरू उपचारका लागि भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केन्द्रित हुन थालेका हुन् । भरतपुर अस्पतालमा पछिल्लो समय दैनिक करिब तीन हजार बिरामीले बहिरङ्ग सेवा लिइरहेका छन् । अस्पतालका स्वास्थ्य बिमा कार्यव्रmम प्रमुख लीलाधर पौडेलका अनुसार गत सोमबार अस्पतालको बहिरङ्ग सेवामा तीन हजार १८७ जना बिरामी आएका थिए । तीमध्ये दुई हजार ३२३ जना स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका र ८६४ जना अन्य बिरामी थिए ।

पौडेलका अनुसार निजी अस्पतालमा बिमा सेवा बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीले सिधै सेवा लिन सक्ने भएकाले समेत बिरामीको सङ्ख्या बढेको हो । भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेले दैनिक पाँच सयदेखि आठ सयसम्म बिरामी थपिएको बताउनुभयो । उहाँका अनुसार बिदापछिका दिनमा हुने नियमित चापसँगै अहिले बिमित बिरामी थपिँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

“पहिलेदेखि नै बिदापछिका दिनमा बिरामीको चाप धेरै हुन्थ्यो । अहिले निजी अस्पतालबाट आएका बिमित बिरामीसमेत थपिएकाले सेवा प्रवाहमा कठिनाइ बढेको छ,” उहाँले भन्नुभयो, “दीर्घकालीन समाधानका लागि आवश्यक व्यवस्थापनको तयारी गरिरहेका छौँ ।” बढ्दो चाप व्यवस्थापन गर्न अस्पतालले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने विषयमा अध्ययन गरिरहेको जनाएको छ । भरतपुर महानगरपालिकासँग सहकार्य गरी नगर अस्पताल सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको डा. बगालेले जानकारी दिनुभयो । सामान्य प्रकृतिका बिरामीलाई स्थानीय तहमा उपचारको व्यवस्था गर्न सके केन्द्रीय अस्पतालमाथिको दबाब कम हुने उहाँको भनाइ छ । छ सय शøयाको भरतपुर अस्पतालमा हाल बिरामी भर्ना गर्नसमेत कठिन रहेको उहाँले बताउनुभयो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि बिरामीको अत्यधिक चापका कारण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार पहिले दैनिक करिब ८५० बिरामीले बहिरङ्ग सेवा लिने गरेकामा अहिले यो सङ्ख्या बढेर एक हजार तीन सयसम्म पुगेको छ । बिरामीको चाप बढेसँगै टिकट काउन्टरदेखि उपचारका विभिन्न विभागसम्म सेवा प्रभावित हुन थालेको छ । हाल सञ्चालनमा रहेका आठ वटा टिकट काउन्टरमा थप दुई वटा काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)