मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गलत राजनीति र कोरोनाको बन्धक अर्थतन्त्र

karobardaily.com · Fri May 21 00:21:33 GMT 2021

नेपालका राजनीतिक दलको गलत स्कुलिङका कारण मुलुकको अर्थतन्त्र सधंैजसो बन्धकमा परिरह्यो । अस्थिर राजनीतिका कारण जन्मेको श्रम समस्या तथा उत्पादकत्वमा आइरहेको ह«ासले दुःखी रहेका नागरिकले तीन वर्षअगाडि स्थिर सरकारको परिकल्पनासहित एउटै राजनीतिक दललाई बहुमत दिए । राजनीतिक स्थिरताले औद्योगिक सुरक्षा तथा शान्ति होला र मुलुकले तीव्र आर्थिक विकासको बाटो समाती आय, समानता तथा समृद्धितर्फ मुलुक जाला भन्ने परिकल्पना यतिखेर मृगमरिचिका साबित भएको छ । नेपालका राजनीतिक दलका अराजनीतिक हतकण्डा तथा मुलुकप्रति गैरजिम्मेवार व्यवहारका कारण नेपाल आज फेरि एउटा अनिश्चितताको दोबाटोमा उभिएको छ । जहाँबाट मुलुक पुनः समयावधिभन्दा अगावै चुनावतिर गइरहेको देखिन्छ । तर, चुनावतर्फ जाने बाटो पनि सहज र सरल भने छैन, अझै टेढोमेढो र कठिन यात्रा आगामी दिनमा देखिन्छ । यस्तो विषम परिस्थिति निर्माण हुनुमा सबै राजनीतिक दल दोषी छन्, तर सबैभन्दा बढी दोषको भागीदार सरकारमा रहेको राजनीतिक दलको भागमा पर्छ । राज्यसत्ता, शक्ति तथा स्रोतको दुरुपयोग गरेर वर्तमान सरकारले यदि मुलुक कब्जा गर्ने रणनीति नलिई मुलुकलाई शान्ति र समृद्धिको बाटोमा हिँडाउन चाहेको भए सक्थ्यो, तर बालुवाटारको अति उग्र महŒवाकांक्षा र राज्य सञ्चालनको कलाविहीन नाटकका कारण मुलुकको अर्थतन्त्र एकपटक फेरि बन्धक भएको छ । आन्दोलन गर्नु, उग्र भाषणबाजी गर्नु र नागरिकलाई बेबकुफ बनाउनु एउटा कुरा हो, तर राज्य सञ्चालनको जिम्मा लिएर जिम्मेवार पदमा बसेका मानिसहरूमा शक्तिको मैमत्तता र राज्य सञ्चालनको कखरा नआएपछि त्यसको नकारात्मक प्रभावबाट नागरिकलाई कसैले बचाउन नसक्ने रहेछ । नेपाली राजनीति विश्वमै सबैभन्दा बढी बदनाम र अलोकप्रिय मात्र हुँदा त केही थिएन, तर ३ करोड नागरिकको सहज, सरल र समृद्ध जीवन बाँच्ने संवैधानिक हक र चाहना पनि कसैले बन्धक बनाएको यो वर्तमान इतिहासमा कालो अक्षरले लेखिनेछ । बिना नागरिक कार्यकर्ताले मात्र मुलुक बन्दैन भन्ने चेत जबसम्म नेपाली राजनीतिक दलमा आउन्न, तबसम्म नेपाल अगाडि बढ्न मुस्किल छ । बितेका तीन वर्षयता कतिपल्ट संविधान मिचियो, कति कानुन मिचिए, सायदै इतिहासमा यस्तो भएको होला । कुनै समयमा एउटा तानाशाहको बोली नै कानुन हुन्थ्यो भन्ने सुनेका, पढेका नेपाली नागरिकले प्रजातन्त्रको खोल ओढेर कसरी फेरि तानाशाहको प्रेत बिउँतिने रहेछ, कटु अनुभव गर्ने मौका पाए ।

तर, २००७ सालदेखि २०७८ सालसम्म आइपुग्दा प्रजातन्त्रको घाँटी पटक–पटक निमोठिँदा अर्थतन्त्र सधैं जर्जर रहिरहने घटना पुनरावृत्ति भइरहनु नेपाली नागरिको दुर्भाग्य हो । एकातिर वैश्विक महामारी, अर्कातिर गलत राजनीतिले नेपाली अर्थतन्त्र बन्धक बनेको यो पहिलो पटक होइन । संविधान सभामार्फत संघीय गणतन्त्र नेपालको संविधान जारी हुँदा अब नेपालीको राजनीतिक लडाइँ सकियो, आर्थिक क्रान्तिको युग सुरु भयो भन्ने नेतागणका आर्थिक स्थिति सुध्रियो, तर नागरिक भने जस्ताका तस्तै रहे । विज्ञका सही सल्लाह नसुन्ने र आफ्नो अल्पज्ञानले नागरिको ज्यान जोखिममा पार्ने मात्र होइन, ५ हजारभन्दा बढीको ज्यान जाँदा पनि शासकमा चेत नआउनु र नागरिकको जीवनरक्षा गर्न कुनै निर्णय गर्नु नसक्नुले नेपालमा राजनीतिक दल तथा नेता कसका लागि राजनीति गर्दा रहेछन् भन्ने प्रश्न इतिहासले पक्कै सोध्नेछ । कोभिड–१९ को महामारी र संक्रमण फैलिन नदिन गत वर्ष गरिएको बन्दाबन्दीका कारण प्रभावित भई बिस्तारै सुधार हुन थालेको अर्थतन्त्रमा कोभिडको दोस्रो लहर र निषेधाज्ञाका कारण पुनः प्रभावित हुन थालेको छ । नागरिकका रोजगारी गुमेका छन्, जीवन कष्टकर छ, उपचार नपाएर नागरिक अस्पतालमा मरिरहेछन्, तर शासक आफ्नो सत्ताको आयु लम्ब्याउन अनेक दाउपेच गर्दै छ । संविधानतः आफूले रोजेको पेसा–व्यवसाय गरेर बाँच्न पाउने नागरिकका अधिकार मारेर लम्बिएको सत्ताको कुनै अर्थ रहन्न । किनकि मुलुक भनेको भूगोल होइन, नागरिक हुन् । अर्थतन्त्र बन्धक बनाएर नेपाललाई पराधीन बनाइराख्ने खलनायकलाई इतिहासले कहिल्यै माफ गर्नेछैन ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)