युद्ध-विरामको बाबजुत लेबनानमा इजरायली आक्रमण जारी
gorkhapatraonline.com · Wed Jun 17 07:04:38 GMT 2026

मध्यपुर्व युद्धमा घोषणा भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले बुधवार दक्षिण लेबनानका धेरै क्षेत्रमा हवाई आक्रमण गरेको लेबनानी मिडियाले रिपोर्ट गरेका छन् ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धरत विमानले नबातीह अल-फाका क्षेत्र र छिमेकी सहर कफर तेबनिटको पूर्वी इलाकालाई लक्षित गरी छापा मारेको बताएको छ । इजरायलीले जह्रानी क्षेत्रको अन्सारीह सहरमा पनि ड्रोन आक्रमण गरेको जनाइएको छ ।
सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्न अमेरिका–इरान सम्झौता घोषणा भएदेखि लेबनानमा हिंसात्म गतिविधि घटेको जनाइएको छ तर सम्झौता भएपछि भएको इजरायली आक्रमणका कारण कम्तिमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । सुधारको आशासँगै दक्षिण लेबनानका बासिन्दालाई आफ्नो बासस्थान फर्कन र आफ्नो सहर र गाउँको निरीक्षण गर्न अनुमति दिएको छ ।
तर लेबनानी सेनाले इजरायली आक्रमणको जोखिम अझै बाँकि रहेको भन्दै स्थानीयलाई फिर्तीमा ढिलाइ गर्न आग्रह गरेको छ । इरान समर्थित लडाकु समूह हेजबुल्लाहले मार्चको सुरुमा अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन इजरायलमा रकेट प्रहार गरेर लेबनानलाई मध्यपूर्व युद्धमा तानेको थियो ।
जसको जवाफ इजरायलले हवाई तथा स्थलगत आक्रमणको छुट्टै अभियानको साथ दिएको थियो । इरानका विदेश मन्त्री अब्बास अराघचीले मङ्लबार यस युद्धमा कब्जा गरेका क्षेत्रबाट इजरायली सेना फिर्ता नगरेसम्म द्वन्द्वको अन्त्य नहुने बताएका छन् । आगामी दिनमा लेबनानमा कुनै पनि सैन्य आक्रमण र लेबनानका क्षेत्रमा निरन्तर कब्जा गर्नु शान्ति सम्झौताको विपरित हुने उहाँले बताउनु भएको छ ।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देशको सेना “आवश्यक हुँदासम्म” लेबनानमा रहने बताउनुभएको छ । हेजबुल्लाहले मङ्गलबारदेखि दक्षिण लेबनानमा इजरायली लक्ष्यमा आक्रमण गरेको दाबी गर्दै अहिलेसम्म कुनै सूचना जारी गरेको छैन । समूहका नेता नईम कासिमले बुधबार सार्वजनिक रुपमा टेलिभिजन सम्बोधन गर्ने जनाइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भएदेखि भएको इजरायली आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार ८२६ पुगेको जनाएको छ । रासस/एएफपी
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)