दुर्लभ पाउलो रोसी : एकै पटक विश्वकप, गोल्डेन बुट र गोल्डेन बल जित्ने खेलाडी
onlinekhabar.com · Sun May 24 12:11:42 GMT 2026

१० जेठ, काठमाडौं । फिफा विश्वकपको एकै संस्करणमा विश्वकप उपाधिसँगै गोल्डेन बल र गोल्डेन बुटको अवार्ड जित्दा कस्तो होला ? विश्वकप ट्रफी, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जित्दाको खुसी शब्दमा व्यक्त गर्न सकिँदैन ।
इटलीका पाओलो रोसी त्यस्तै खेलाडी हुन् जसले सन् १९८२ मा फिफा विश्वकपको उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बने । उनले फिफा विश्वकप ट्रफी मात्र उचालेनन् सँगै गोल्डेन बुट र गोल्डेन बलको अवार्ड पनि त्यही विश्वकपमा उचाल्ने अवसर पाए ।
उनी सम्मिलित इटालियन टिमले विश्वकप उपाधि जित्यो । उत्कृष्ट खेलाडी बन्दै उनले गोल्डेन बल र सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटसमेत जिते । उनले इटलीलाई विश्वकप जिताउनका लागि उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६ गोल गरेका थिए ।
स्पेनमा भएको १९८२ को १२औं संस्करणदेखि नै विश्वकपमा उत्कृष्ट खेलाडीका लागि गोल्डेन बुट र सर्वाधिक गोलकर्ताका लागि गोल्डेन बल दिन थालिएको थियो । पहिलो पटकमै रोसीले अवार्डमा क्लिन स्वीप गरे ।
इटालीले फाइनलमा पश्चिम जर्मनीलाई ३–१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए । समूह चरणमा गोल गर्न नसकेपछि रोसीले दोस्रो चरणमा उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३–२ ले पराजित गर्दा ह्याट्रिक गरेका थिए । यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २–० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए ।
विश्वकपका साथै रोसीले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए । रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे ।
सन् २०२० डिसेम्बरमा ६४ वर्षको उमेरमा उनको निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
गोल्डेन बुट