मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आठराई त्रिवेणीलाई फुसको छानोमुक्त पालिका घोषणा गरिने

gorkhapatraonline.com · Wed Jun 17 07:52:09 GMT 2026

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी २०८३ साल पुस महिनाभित्र पालिकालाई पूर्ण रूपमा फुसको छानोमुक्त घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ । गाउँपालिकाले मङ्गलबारदेखि सुरु गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमअन्तर्गत वडा १ निगुरादिनमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दिपेन) ले उक्त घोषणा गर्नुभएको हो ।

अध्यक्ष पोमूका अनुसार पालिकाभित्र रहेका अधिकांश फुसका छाना विस्थापन भइसकेका छन्। हालसम्म गाउँपालिकाभर करिब ५ सय घरधुरीका फुसका छाना हटाएर सुरक्षित तथा व्यवस्थित छाना निर्माण गरिएको छ । अब केवल ७४ घरपरिवारमा मात्र फुसको छानो बाँकी रहेको र ती घरपरिवारको छाना आगामी पुस महिनाभित्र विस्थापन गरिसक्ने योजना रहेको उहाँले बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष पोमूले विकास निर्माणका कामहरू सञ्चालन गर्दा नागरिकको निजी सम्पत्तिमा क्षति नपुग्ने विषयमा गाउँपालिका सचेत रहेको उल्लेख गर्नुभयो । आफूले पूरा गर्न नसक्ने आश्वासन नबाँड्ने र सार्वजनिक रूपमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गरेर देखाउने आफ्नो कार्यशैली रहेको उहाँको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)