नेपाली कम्युनिस्ट आन्दोलन विघटनको अन्तिम सङ्घारमा : शर्मा
ratopati.com · Wed Jun 17 08:44:56 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबिचको गम्भीर अन्तर्विरोधका कारण विघटनको सङ्घारमा पुगेको बताएका छन्।
बुधवार आयोजित 'दर्शनशास्त्रको इतिहास' पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै उनले मार्क्सवादी दर्शनलाई सही ढङ्गले आत्मसात् गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन सङ्कटमा परेको धारणा राखेका हुन् ।
मार्क्सवादी दर्शनको सार समाज र जगतको व्याख्या गर्नु मात्र नभई त्यसलाई परिवर्तन गर्नु रहेको स्पष्ट पार्दै उनले किताबी दर्शन र जीवन व्यवहारबिचको दूरी, संसदवादप्रतिको अत्यधिक झुकाव तथा जडसूत्रीय ढङ्गले मार्क्सवादलाई कुण्ठित गर्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको टिप्पणी गरे। भौतिकवादी दर्शनको ठुलो वकालत गर्ने नेताहरू स्वयं व्यावहारिक जीवनमा आदर्शवादी बनेको शर्माको आरोप छ। भनाइमा भौतिकवादी र जीवनमा आदर्शवादी मान्यता राख्ने नेतृत्वको दोहोरो चरित्रका कारण कम्युनिस्ट आन्दोलन यो अवस्थामा पुगेको भन्दै उनले आफूमा समेत यस्तो कमजोरी र सीमा देखिएको बडो इमानदारीका साथ स्वीकार गरे।
आफ्नो विचार राख्दै उनले भने, ‘मार्क्सले भन्नुभएको दार्शनिकहरूले विभिन्न तरिकाले व्याख्या मात्र गर्नुभएको छ तर मुख्य कुरा बदल्ने हो भन्ने कुरा नै मार्क्सवादी दर्शनको सारवस्तु हो । यो सारवस्तुलाई आत्मसात् गर्न नसक्दा कितावी दर्शन र जीवन व्यवहारको दर्शनमा अन्तर्विरोध हुँदा नेपाली कम्युनिस्ट आन्दोलन आज विघटनको अन्तिम सङ्घारमा पुगेको छ । एकातिर संसदवाद र संसदवादको आदर्शवादको बाटो अवलम्बन गर्ने एउटा मुख्य जिम्मेवार शक्ति अथवा पात्रहरु छन् भने अर्कोतिर जडसुत्रीय ढङ्गले फेरि मार्क्सवादलाई कुण्ठित गर्नेहरू छन् । यी दुवै समस्याका कारणले नेपाली कम्युनिस्ट आन्दोलन दर्शनलाई, अझ ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई जीवन व्यवहारमा लागू गर्ने, जगत समाज सबैलाई परिवर्तन गर्नका लागि त्यसको त्यो मान्यताका आधारमा अगाडि बढ्नुको सट्टामा हामी कहाँ सम्म आइपुग्यो भने भौतिकवादी नेताहरूले भौतिकवाद र आदर्शवादको फ्युजनको कुराहरू जब अगाडि आए, त्यति बेलादेखि अझ देखिने गरी किताबी दर्शन र जीवन व्यवहारको दर्शनको अन्तर महसुस हामीले ग¥यौँ । त्यस्तै स्कुलिङ, त्यस्तै प्रशिक्षण, त्यस्तै व्यवहारहरूबाट भनाइमा भौतिकवादी, जीवनमा आदर्शवादी मान्यता राख्ने कम्युनिस्ट नेताहरूको कारणले गर्दाखेरि यो स्थिति आयो, त्यो ममा पनि, अरुवा पनि र मुख्य नेताहरूमा देखिएका यी समस्याहरूको कारणले आज कम्युनिस्ट आन्दोलन विघटनको सङ्घारमा छ ।’
सम्बोधनकै क्रममा नेता शर्माले नेपालमा हाल वास्तविक कम्युनिस्ट पार्टी अस्तित्वमा छ कि छैन भन्ने विषयमा अब गम्भीर बहस गर्नुपर्ने बेला आएको बताए। कुन सिद्धान्तका आधारमा कसलाई कम्युनिस्ट पार्टी मान्ने हो भनी प्रश्न गर्दै उनले नेपालका कम्युनिस्ट पार्टीहरू जनताको वास्तविक जीवनसँग जोडिनै नसकेको र जोडिन समेत नचाहेको आरोप लगाए। जनतासँग जोडिएको दाबी गर्ने शक्तिहरू पनि आदर्शवादी ढङ्गले अघि बढेको कुरा घाम जत्तिकै छर्लङ्ग रहेको उनको टिप्पणी छ। देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, भाषा र लिङ्ग समुदायको सही नेतृत्व गर्न तथा उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउन कम्युनिस्ट आन्दोलन असफल भएको उनले दाबी गरे।
आजको समयमा पनि सुकुमबासीहरू विस्थापित हुनुपर्ने, तल्लो वर्ग राज्यका सेवा, साधन र स्रोतबाट वञ्चित रहनुपर्ने तथा भाषिक, सांस्कृतिक, वर्गीय र जातीय विभेद कायमै रहनु कम्युनिस्ट आन्दोलनको ठुलो कमजोरीको प्रमाण भएको शर्माको भनाइ छ। देशमा विद्यमान वर्तमान राजनीतिक निराशाजनक अवस्था आउनुमा कम्युनिस्ट दलहरूकै कमजोरी मुख्य कारण रहेको उनले औँल्याए। जनताका समस्यामा दृढतापूर्वक उभिन नसक्नु र विभिन्न किसिमका भ्रष्टाचारजस्ता जनविरोधी कार्यमा संलग्न हुनुका कारण नै कम्युनिस्टहरूको जनसमर्थन दिनानुदिन घट्दै गएको उनले स्पष्ट पारे।
पार्टीहरूको वर्तमान अवस्थाप्रति लक्षित गर्दै उनले भने, ‘कसलाई कम्युनिस्ट पार्टी भनेर भन्ने हो आज ? यो कुन सिद्धान्तका आधारमा कम्युनिस्ट पार्टी मान्ने हो ? कम्युनिस्ट पार्टीले जनताको जीवनसँग जनतासँग जोडिएकै छैन, भन्ने कुरा देखिसकियो । जोडिनै चाहन्न भन्ने कुरा पनि देखिएको छ । जोडिएकाहरू भन्नेहरू आदर्शवादी ढङ्गले अगाडि बढेको कुरा पनि घाम जत्तिकै छर्लङ्ग छ । त्यस कारण साँच्चिकै कम्युनिस्ट पार्टी छ त आज नेपालमा ? यो बहस आवश्यक छ । यो दार्शनिक रूपले, यो राजनीतिक रूपले, यो वर्ग सङ्घर्षका दृष्टिकोणले, यो समाज परिवर्तनका दृष्टिकोणले यो छलफल बहस आजको आवश्यकता हो ।’
क्रान्तिकारी मार्क्सवादी दिशा र चिन्तनबाट मात्रै समाजको वास्तविक रूपान्तरण सम्भव हुने धारणा शर्माले राखे। आफूले यही क्रान्तिकारी विचार र मान्यता तत्कालीन माओवादी पार्टीभित्र उठाउँदा त्यति बेला आफूलाई पार्टीबाटै निकालिनु परेको गुनासो समेत उनले कार्यक्रममा पोखे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)