मुलुक इतिहासकै कठिन मोडमा: अध्यक्ष केसी
gorkhapatraonline.com · Sun May 24 13:23:17 GMT 2026

पुरुषोत्तम सुवेदी
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले आन्तरिक राजनीतिक अस्थिरताका कारण मुलुक इतिहासकै कठिन मोडमा पुगेको बताउनुभएको छ । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” भन्ने मूल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आइतबार आयोजित ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष केसीले यस्तो धारणा राख्नुभएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष केसीले नेपालमा आफ्नो अनुकूलको राजनीतिक शक्ति हाबी गराउन भइरहेका वैदेशिक हस्तक्षेपका कारण मुलुकको सार्वभौमसत्ता र राष्ट्रियता कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । संविधान संशोधनको वर्तमान प्रसङ्गलाई जोड्दै उहाँले भन्नुभयो, “संविधान संशोधन गर्ने समितिको संयोजकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने प्रवृत्तिका व्यक्तिलाई जिम्मा दिँदा अहिलेसम्मका ऐतिहासिक राजनीतिक उपलब्धि नै खेर जाने गम्भीर खतरा बढेको छ ।” केसीले संविधान संशोधन गर्दा देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गराउन अब देशभरबाटै सरकारलाई सजग र खबरदारी गर्नुपर्ने बेला आएको टिप्पणीसमेत गर्नुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवाले संविधान संशोधन जस्तो संवेदनशील विषयमा हतारो नगर्न सुझाव दिएका छन् । उनीहरूले अल्पकालीन स्वार्थभन्दा माथि उठेर दीर्घकालीन रूपमा देशको विकास हुने र मुलुकले राजनीतिक निकास पाउने गरी मात्र संविधान संशोधनको एजेन्डा तय गरिनुपर्नेमा जोड दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
राष्ट्रिय जनमोर्चा
चित्रबहादुर केसी