पाकिस्तान, बंगलादेश र रोहिङ्ग्याको पक्षमा बोलेको स्वीकार्दै उमर खानको चुनौती, दोषी भए कारबाही गर
barnanmedia.com · Wed Jun 17 08:54:04 GMT 2026

‘हो, मैले पाकिस्तान जिन्दाबाद भनेको हुँ, रोहिङ्ग्यालाई राहत बाँडेको छु, बंगलादेश जिन्दावाद पनि भनेको छु : उमर खान
रोहिङ्ग्या मुस्लिमलाई नेपालमा आश्रय दिएको आरोप खेपिरहेका उमर खानले आफूविरुद्ध फैलाइएका आरोपबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत उनले पाकिस्तान, बंगलादेश र रोहिङ्ग्या मुस्लिम समुदायको पक्षमा बोलेको स्वीकार गर्दै आफूले कुनै कुरा लुकाउन नखोजेको बताएका हुन्।
भिडियोमा उमर खानले भनेका छन्, “हो, मैले पाकिस्तान जिन्दाबाद भनेको हो। हो, मैले बंगलादेश जिन्दाबाद भनेको हो। मैले रोहिङ्ग्या मुस्लिम पनि जिन्दाबाद भनेको हो र उनीहरूलाई राहत वितरण पनि गरेको हो। त्यसमा कुनै दुईमत छैन। यही कुराको स्पष्टीकरण दिँदा दिँदा म विगत ५ वर्षदेखि थाकिसकेको छु।”
पछिल्लो समय सामाजिक सञ्जालमा केही व्यक्तिले उनलाई ‘रोहिङ्ग्या मुस्लिमका नाइके’ भन्दै नेपालमा रोहिङ्ग्या शरणार्थी बसोबास गराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन्। त्यसप्रति प्रतिक्रिया दिँदै उनले आरोप प्रमाणित भए आफू कानुनी कारबाही भोग्न तयार रहेको बताए।
उनले भने, “एकछिनलाई मानौं मैले रोहिङ्ग्या मुस्लिमलाई यो देशमा शरण दिएको छु भने नेपालको कानुन यति कमजोर भइसकेको छ कि उमर खानलाई पक्राउ गर्न सकेको छैन ? पाँच वर्षदेखि मलाई देशनिकाला गर्नुपर्छ, छानबिन गर्नुपर्छ, कारबाही गर्नुपर्छ भन्ने सुनिरहेको छु। तर अहिलेसम्म किन कोही आएको छैन ?”
उमर खानले आफ्नो नाम जोडेर सम्पूर्ण मुस्लिम समुदायमाथि घृणा र आक्रमण हुन थालेको भन्दै दुःख व्यक्त गरे। यदि आफूले गल्ती गरेको भए व्यक्तिगत रूपमा कारबाही हुनुपर्ने तर सम्पूर्ण समुदायलाई दोषी ठहर गर्न नहुने उनको भनाइ छ।
“मैले गल्ती गरेको छु भने मलाई कारबाही हुनुपर्छ। तर मेरो कारणले सिंगो मुस्लिम समुदायमाथि आक्रमण हुनु गलत हो,” उनले भने।
उनले आफूमाथि लगाइएका आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आवश्यक परे प्रहरीसमक्ष आत्मसमर्पण गर्न समेत तयार रहेको बताएका छन्।
“यदि तपाईंहरूलाई लाग्छ कि मैले रोहिङ्ग्यालाई शरण दिएको छु भने म आफैं प्रहरीकहाँ सरेन्डर गर्न जाँदैछु। त्यसपछि छानबिन होस् र सत्य के हो सबैले बुझ्नुहुनेछ,” उनले भिडियोमा भनेका छन्।
उमर खानको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ। एक पक्षले उनको भनाइलाई मानवीय सहयोगको पक्षमा भएको तर्क गरिरहेको छ भने अर्को पक्षले उनीमाथि लागेका आरोपबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरिरहेको छ। हालसम्म सम्बन्धित सरकारी निकायले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)