बागलुङमा दुई जिप ठोक्किँदा पाँच जना घाइते
gorkhapatraonline.com · Wed Jun 17 09:24:46 GMT 2026

बागलुङस्थित मध्यपहाडी लोकमार्गमा बुधबार बोलेरो जिप र फोर्टिस जिप एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।
बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको फोर्टिस जिप र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका–३, रातमाटामा एकापसमा ठोक्किएका हुन् । दुर्घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बुर्तिबाङतर्फ जाँदै गरेको जिपमा सवार १४ जनामध्ये पाँच जना घाइते भएको बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक त्वातीका अनुसार घाइते हुनेहरूमा निसीखोला गाउँपालिका–४ की १६ वर्षीया रेनु विक, १७ वर्षीया लक्ष्मी सुनार, सोही गाउँपालिका–४ की १७ वर्षीया दिलमाया रसाइली, निसीखोला गाउँपालिका–३ का १५ वर्षीय हिमाल शाही ठकुरी र १७ वर्षीया लक्ष्मी विक छन् ।
घाइतेहरूको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ । घाइतेहरूको शरीरका विभिन्न भागसहित चिउँडो, आँखा, हात र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)