सिरुटारको वडा कार्यालय भवन निर्माणका लागि एक करोड मूल्यबराबरको जग्गादान
arthadabali.com · Wed Jun 17 09:43:07 GMT 2026

सूर्यविनायक नगरपालिकाले नौ वटा वडाको कलात्मक कार्यालय भवन निर्माण गरिसके पनि जग्गा अभावले रोकिएको वडा नं १ सिरुटारको भवन पनि अब आफ्नै जग्गामा निर्माण हुने भएको छ ।
स्थानीय स्वर्गीय नरबहादुर राउतको नाममा रहेको करिब रु एक करोडभन्दा बढी मूल्यबराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि दान प्राप्तिपछि भवन निर्माण हुन लागेको हो ।
सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानुकाजी कायस्थले राउत नरबहादुरका चार छोराबाट दान प्राप्त चार आना जग्गामा अन्डरग्राउन्डसहितको अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।
नगरपालिकाले रु तीन करोड ४० लाखको बजेटमा ठेक्का आह्वान गरेसँगै भवन निर्माण अघि बढेको उनले जानकारी दिएका छन् । उनले कलात्मकता झल्किने गरी भवन निर्माण हुने र भवनमा वडा कार्यालयको प्रशासनिक कार्यसँगै विभिन्न शाखा, स्तनपान कक्ष, अपाङ्गमैत्री, सुविधायुक्त हलसहितको भवन निर्माण हुने उनले बताएका छन् ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले वडा नं २ देखि वडा नं १० सम्म आफ्नै भवन निर्माण गरिसकेको बताउँदै अब बाँकी रहेको वडा नं १ को भवन पनि २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने बताएका छन् ।
उनले वडा नं १ को भवन कलात्मक हुने बताउँदै नयाँ बनेका भवनमध्ये वडा नं ५, ६, ९ र वडा नं १० को भवन कलात्मक शैलीमा निर्माण गरेको र वडाका पुराना भवनलाई पनि नयाँ स्वरुपमा कलात्मकता दिएको बताएका छन् ।
वडा नं १ सिरुटारको भवन निर्माणसँगै नगरपालिकाको आफ्नो प्रशासनिक भवन र नगरका १० वटै वडाले आफ्नै भवनबाट नागरिकलाई सेवाप्रवाह गर्ने उनले बताएका छन् ।
सम्बन्धित विषय:
# कार्यालय भवन
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)