जेन-जी आन्दोलनका शहीद परिवारका १६ सदस्यलाई नेपाल विद्युत प्राधिकरणमा रोजगारी
kalakarmi.com · Wed Jun 17 09:59:35 GMT 2026

काठमाडौं – जेन-जी आन्दोलनका शहीद परिवारका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने सरकारको निर्णयअनुसार पहिलो चरणमा १६ जनाले नेपाल विद्युत प्राधिकरणमा करार नियुक्ति प्राप्त गरेका छन् ।
पूर्व कार्यकारी प्रमुख तथा पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले उक्त निर्णय कार्यान्वयनमा आएकोप्रति खुशी व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शहीद परिवारका सदस्यहरूले रोजगारी प्राप्त गरेको समाचारले आफूलाई अत्यन्त सन्तुष्टि मिलेको बताएका हुन्।
घिसिङका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रीको जिम्मेवारीमा रहँदा आफ्नै अध्यक्षतामा गत पुस २२ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको थियो।
त्यतिबेला प्राप्त २७ वटा निवेदनका आधारमा शहीद परिवारका सदस्यहरूको विवरण यकिन गरी उनीहरूको शैक्षिक योग्यताअनुसार पायक पर्ने प्राधिकरण कार्यालयहरूमा बढीमा तीन तहसम्म करार नियुक्ति दिने व्यवस्था गरिएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार उक्त निर्णय सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा शहीद परिवारका सदस्यहरूको निवेदनका आधारमा गरिएको हो।
घिसिङले शहीदहरूको बलिदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूका परिवारप्रति राज्यको दायित्व पूरा गर्ने कार्यमा योगदान पुर्याउने सबै व्यक्ति तथा निकायप्रति धन्यवाद व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
हितेन्द्रदेव शाक्य
काठमाडौँ