हिरासतबाट बाहिरिएपछि सेफ सन्तोषले भने: चेक २ करोड २५ लाखको होइन, ४ लाख ५० हजारको
nagariknews.nagariknetwork.com · Wed Jun 17 09:56:14 GMT 2026

बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय विवरण तथ्यभन्दा बाहिर रहेको बताएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले आफूविरुद्ध भएको कारबाही कानुनी प्रक्रिया र समयसीमाको सन्दर्भमा प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै पक्राउ गरिएको दाबी गरे।
उनका अनुसार करिब एक महिना अघि पक्राउ पुर्जी जारी भए पनि आफू स्वेच्छाले भद्रकालीस्थित प्रहरी परिसर पुगेका बेला पक्राउ नगरिएको र पछि जनकपुरबाट नियन्त्रणमा लिइएको घटनाले शंका उत्पन्न गरेको छ।
साहले सिला रेष्टुरेन्ट खरिदसँग जोडिएको आर्थिक विषयमा पनि आफ्नो धारणा सार्वजनिक गर्दै मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँमा सम्झौता भएको बताए। उनले उक्त सम्झौताअनुसार आर्जव होल्डिङ्सको बाँकी रहेको ४० लाख रुपैयाँ घरभाडा तथा २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुलसमेत मिथिला थालीमार्फत सम्बन्धित पक्षलाई भुक्तानी गरेर सहजीकरण गरिएको स्पष्ट पारे।
उनले मिडियामा २ करोड २५ लाख रुपैयाँकै कारण पक्राउ परेको भन्ने चर्चा गलत भएको दाबी गर्दै वास्तविक विवाद ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको बताए।
साहका अनुसार आफू रारा ट्रेकिङमा रहेका बेला उनका दाजु र सहकर्मीमार्फत १५ लाख रुपैयाँको चेक दिई सम्झौता प्रक्रिया अघि बढाइएको थियो। बाँकी वित्तीय व्यवस्थापनसमेत पूर्वसहमतिअनुसार मिलाइएको उनको भनाइ छ।
त्यसैगरी, पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँ बाँकी रहेको दाबीबारे पनि उनले स्पष्टीकरण दिएका छन्। उनका अनुसार उक्त रकम एकमुष्ट भुक्तानी हुन बाँकी नभई आर्जव होल्डिङ्सका विभिन्न बैंक खातामा चरणबद्ध रूपमा रकम जम्मा गरिएको थियो।
साहले नबिल बैंकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमार्फत ६ लाख रुपैयाँ तथा नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको जानकारी दिए।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ