अक्षयकोष स्थापना गर्न नेपाल बैंकको आर्थिक सहयोग
aarthiknews.com
काठमाडौं । नेपाल बैंक लिमिटेडले अक्षयकोष स्थापनाका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमर/सहिद, अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला एवम् पूर्व प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका सन्ततिहरू मध्ये उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न बैंकले सहयोग गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच “नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति” कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैंक र नेपाल प्रहरीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले उक्त रकमको चेक प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकाललाई हस्तान्तरण गरेका हुन् ।
नेपाल प्रहरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप शैक्षिक छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बैंकप्रति आभार व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले प्रहरी संगठनबाट सञ्चालित विद्यालयहरूमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गर्ने अवसर प्राप्त भएका बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)