ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि १६ सय टावर निर्माण गरिने : मन्त्री तिमिल्सिना
aarthiknews.com

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि थप करिब १६ सय टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री तिमिल्सिनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो बढ्दै गएको उल्लेख गर्दै मन्त्रालय त्यसको समाधानका लागि गम्भीर रूपमा काम गरिरहेको बताए।
उनका अनुसार आगामी आर्थिक वर्षमा नेपाल टेलिकममार्फत दूरसञ्चार पूर्वाधार विस्तारमा करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने तयारी गरिएको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले ठूलो लगानी गर्ने तयारी गरेको उनले जानकारी दिए।
सञ्चारमन्त्री तिमिल्सिनाले हाल देशभर ४ हजार ८२९ साइट सञ्चालनमा रहेको जानकारी दिए। तीमध्ये कोशीमा ७६०, मधेसमा ५६८, बागमतीमा १ हजार २७७, गण्डकीमा ५९९, लुम्बिनीमा ८१९, कर्णालीमा ३०५ र सुदूरपश्चिममा ५०१ साइट सञ्चालनमा छन्।
उनका अनुसार सेवा विस्तार र गुणस्तर सुधारका लागि थप १ हजार ४४३ साइट आवश्यक पर्ने अध्ययनले देखाएको छ। तीमध्ये कोशीमा २५७, मधेसमा २२८, बागमतीमा ३८९, गण्डकीमा ७६, लुम्बिनीमा २००, कर्णालीमा १२१ र सुदूरपश्चिममा १७२ साइट थप आवश्यक रहेको पहिचान गरिएको छ।
मन्त्री तिमिल्सिनाले आवश्यकताभन्दा केही बढी गरी करिब १६ सय साइटका लागि खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए। उपकरण खरिदमा केही समय लाग्ने भए पनि सम्बन्धित निकायसँग समन्वय गरेर समयसीमाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।
उनले दूरसञ्चार सेवासम्बन्धी जनगुनासोप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै नागरिकले गुणस्तरीय सञ्चार सेवा पाउने सुनिश्चितताका लागि काम तीव्र गतिमा अघि बढिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)