टी–२० क्रिकेटमा रुवान्डाका हम्जा खानको तहल्का : विश्वकप क्वालिफायरमा दुर्लभ कीर्तिमान
ratopati.com · Sun May 24 15:19:27 GMT 2026

काठमाडाैँ। रुवान्डाका ब्याटर हम्जा खानले आइतबार पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै एक उत्कृष्ट इनिङ्स खेलेका छन्। आईसीसी पुरुष टी–२० विश्वकप अफ्रिका सब–रिजनल क्वालिफायर अन्तर्गत गाबोरोनमा भएको खेलमा उनले आइभोरी कोस्ट विरुद्ध अविजित १६४ रनको सनसनीपूर्ण इनिङ्स खेलेका हुन् ।
मात्र ६५ बलको सामना गरेका हम्जाले ९ चौका र १५ छक्का प्रहार गर्दै २५२.३० को विष्फोटक स्ट्राइक रेटमा उक्त रन बनाएका हुन्। उनले एकै इनिङ्समा प्रहार गरेको १५ छक्का पुरुष टी–२० अन्तर्राष्ट्रियको एउटै इनिङ्समा प्रहार भएको चौथो सबैभन्दा बढी छक्काको संयुक्त कीर्तिमान समेत हो ।
हम्जाले बनाएको १६४ रन पुरुष टी–२० अन्तर्राष्ट्रिय इतिहासकै दोस्रो ठुलो व्यक्तिगत स्कोर हो। यस सूचीको शीर्ष स्थानमा अस्ट्रेलियाका एरोन फिन्च छन्, जसले सन् २०१८ मा जिम्बाब्वे विरुद्ध १७२ रनको ऐतिहासिक इनिङ्स खेलेका थिए ।
हम्जाले अफगानिस्तानका हजरतउल्लाह जाजईले सन् २०१९ मा आयरल्यान्ड विरुद्ध बनाएको १६२ रनको कीर्तिमानलाई पछि पार्दै यो सफलता हात पारेका हुन्। उनको यो ऐतिहासिक ब्याटिङको मद्दतले रुवान्डाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २८८ रनको विशाल योगफल खडा गर्यो ।
मैदानको चारैतर्फ उत्कृष्ट सटहरू प्रहार गरेका हम्जाले पावरप्लेदेखि डेथ ओभरहरू सम्म आइभोरी कोस्टका बलरहरूमाथि पूर्ण रूपमा दबाब बनाएका थिए। रुवान्डाले बनाएको २८८ रन पुरुष टी–२० अन्तर्राष्ट्रिय इतिहासकै सातौँ ठुलो सामूहिक योगफल हो । उत्कृष्ट लयमा रहेका हम्जाले यसअघि क्यामरुन विरुद्धको पहिलो खेलमा पनि अविजित ६० रन बनाउँदै टोलीलाई जित दिलाएका थिए ।
२८९ रनको विशाल लक्ष्य पछ्याएको आइभोरी कोस्टको टोली मात्र १७ रनमा अलआउट हुन पुग्यो। यो स्कोर टी–२० अन्तर्राष्ट्रिय इतिहासकै पाँचौँ सबैभन्दा कम योगफलको संयुक्त कीर्तिमान हो। आइभोरी कोस्टलाई सस्तैमा समेट्दै रुवान्डाले २७१ रनको विशाल अन्तरले खेल आफ्नो पोल्टामा पार्यो। रनको अन्तरका आधारमा यो जित पुरुष टी–२० अन्तर्राष्ट्रिय इतिहासकै तेस्रो ठुलो जित हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)