मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाललाई जर्मनीको पौने ४ करोड युरो सहयोग, ऊर्जा र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

barnanmedia.com · Wed Jun 17 11:11:34 GMT 2026

सङ्घीय गणतन्त्र जर्मनीले नेपाललाई आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो (करिब ५ अर्ब ४१ करोड रुपैयाँ) प्राविधिक तथा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा जर्मनीले नेपालसँगको साझेदारीलाई अझ सुदृढ बनाउने घोषणा गरेको हो।

नेपालस्थित जर्मन राजदूतावासका अनुसार दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यको प्रमुख प्राथमिकतामा राख्ने सहमति गरेका छन्। वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयका महाशाखा प्रमुख धनीराम शर्मा र जर्मन प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको आर्थिक सहयोग तथा विकास मन्त्रालयकी दक्षिण एसिया महाशाखा प्रमुख बार्बरा शेफरले गरेका थिए।

जर्मनीले उपलब्ध गराउने उक्त सहायता रकम नेपालको नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको प्रवद्र्धनमा खर्च गरिनेछ। यसका साथै विद्युत् वितरण प्रणाली सुदृढीकरण र हरित तथा उत्थानशील कृषि विकासमा पनि यो रकम उपयोग हुनेछ।

नेपालको आन्तरिक प्रणाली सुधारका लागि राजस्व क्षेत्र सुधार र गुणस्तरीय पूर्वाधार निर्माणमा साझेदारी गरिने जनाइएको छ। यसैगरी लैङ्गिक समानता, दिगो आर्थिक विकास तथा वित्तीय पहुँच विस्तारका कार्यक्रममा पनि सो रकम लगानी हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)