फेवातालमा सर्फिङ भित्रको जोखिम
nagariknews.nagariknetwork.com · Wed Jun 17 11:44:02 GMT 2026

हावाहुरी र छालले हुत्याउँदा मंगलबार बेलुकी फेवातालमा सर्फिङ गरिरहेका भारतीय पर्यटक सवार स्ट्याण्ड अप प्याडल बोट (सुप)पल्टियो। बोट पल्टिँदा डुबेका दुईजना भारतीय पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गर्यो। सशस्त्र प्रहरीको कालिका गणबाट खाटिएको टोलीले उनीहरुलाई उद्धार गरेको थियो। बेलैमा उद्धार पाउँदा ती पर्यटकको ज्यान जोगियो।
फेवातालमा अचानक आएको हावाहुरी र पानीको छालका कारण दुईवटा सर्फिङ बोट पल्टिएका थिए। ती बोटबाट खसेका भारतीय नागरिकलाई फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डमा रहेको १० जनाको विपद् व्यवस्थापन टोलीले तत्कालै सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको थियो।
सकुशल उद्धार गरिएका पर्यटकमा पोखरा घुम्न आएका भारतीय पर्यटक वर्ष ४० का धीरज कोरवाल र वर्ष ३५ का विकास कोरवाल थिए। समयमै सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका कारण मानवीय क्षति हुनबाट रोकिएको थियो। केहीदिन अघि पनि सशस्त्र प्रहरीको कालिका गणबाट खटिएको यही टोलीले फेवातालमा कायकिङ र सर्फिङमा फँसेका १२ जना पर्यटकको सकुशल उद्धार गरेको थियो।
यस्ता घटना फेवातालमा अहिले दिनहुँजसो हुने गरेका छन्। यो सिजनमा मध्यान्हपछि पोखरामा हावाहुरी चल्ने र त्यसले तालमा छाल उब्जाउँदा तालमा पर्यटकलाई सवार गराईरहेका सर्फिङ बोट चपेटामा पर्ने गरेका छन्। तालमा जथाभावि संचालन गरिएका ती साहसिक पर्यटकीय गतिविधिका कारण अहिले तालमा भीडभाड त बढेको छ नै व्यवस्थापन गतिलो नहुँदा जोखिम पनि थपिँदै गएको व्यावसायीले बताएका छन्।
सशस्त्र प्रहरीको कालिका गण्डका सूचना अधिकारी डिएसपी खेम शर्माका अनुसार चालु आर्थिक वर्षमा फेवातालमा सर्फिङ बोट पल्टिँदा ८५ जना पर्यटक तालमा डुबेका थिए। ती मध्ये ४ जनाको ज्यान गएको थियो। अरु ८१ जना पर्यटक भने सुरक्षित रहेका थिए।
‘पछिल्लो समय तालमा रमाउनका लागि प्रयोग गरिएका सर्फिङ बोटका कारण दुर्घटना बढिरहेका छन। तालमा एकाएक छाल आउँदा रमाईरहेका ती पर्यटक हुत्तिने गरेका छन,’ उनले भने, ‘पछिल्लो समय त नियमितजस्तै घटना भईरहेका छन्। बेलैमा सचेत भएकोले र उद्धार हुँदा ज्यान जोगिएको छ।’
फेवातालमा डुंगा डुब्ने र प्याराग्लाइडिङ पनि खस्ने क्रमसँगै उद्धारमा खटिनका लागि सशस्त्र प्रहरीले बाराहीघाटमा अग्लो टावर बनाएको छ। टावरमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म सशस्त्र प्रहरीको उद्धार टोली खटिने गरेको छ। टोलीसँग मोटरबोट, र्याफ्टिङ् बोट सहितका सामाग्री पनि सशस्त्रको टोलीसँग रहेका छन्। ‘घटनाको खबर थाहा पाउनासाथ टोली उद्धारका लागि गइहाल्छ। सम्भव भएसम्म ज्यान बचाउने प्रयास गरेका छौ,’ उनले भने, ‘पछिल्लो समय सर्फिङ बोटका कारण घटना बढेका छन्। उद्धार टोलीको व्यस्तता पनि थपिएको छ।’
बेलुकीको शितल समयमा तालमा पानीमाथि तैरिएर रमाउने पाहुना अधिक हुन्छन। तर, पोखरामा दिनहुँजसो चल्ने हावाहुरी र वर्षाका कारण पानीमाथि तैरिएर रमाउने ती कायकिङ र सर्फिङ बोटका पर्यटक जोखिममा पर्ने गरेको व्यावसायीले बताए। ‘हामीले त बारम्बार स्थानीय प्रशासनलाई यसबारेमा सचेत गराएका छौ,’ पर्यटन व्यावसायी निम रानामगर भन्छन, ‘साहसिक गतिविधि हो। तर, यसलाई व्यवस्थित र सुरक्षित तरिकाले संचालन गर्नुपर्छ। जथाभावि संचालन गर्न दिएमा क्षति हुन पनि सक्छ।’
उनका अनुसार फेवातालमा भईरहेको यो जल पर्यटनको महत्वपूर्ण विधा हो। यो साहसिक गतिविधिमा पर्छ। पछिल्लो समय फेवातालमा निकै नै फस्टाएको पनि छ। खपौदीसम्म पनि संचालन गर्न थालिएको छ। ‘कायकिङ र सर्फिङ चलाउनका लागि सीप हुनुपर्छ। त्यत्ति मात्र नभई तालिम प्राप्त गाइडको निर्देशनमा मात्र चलाउनुपर्छ। सुरक्षाका लागि गाइड पनि सँगसँगै पानीमा तैरिनुपर्छ। तर, फेवातालमा मनलाग्दी हुने गरेको छ,’ उनले भने।
उनका अनुसार यो बोट उभिएर मात्र चलाउने हो। तर, धेरैले बसेर र केहीले त सुतेरै पनि आनन्द लिने गरेका हुन्छ। अझ कतिपयले त लाइफ ज्याकेट समेत नलगाई पानीमा रमाउने गरेको उनले बताए। एकजना मात्र रमाउन मिल्ने यो बोटमा दुईजना समेत बस्ने गरेका छन।
फेवा डुंगा व्यावसायी संघका अध्यक्ष बलराम गिरीले पनि फेवातालमा अहिले हावाहुरी र वर्षाको कारण कायकिङ र सर्फिङ बोटको यात्रा जोखिमपूर्ण बन्दै गएको बताए। ‘दिनहुँजसो हावाहुरी चल्ने र तालमा छाल उत्पन्न हुने, त्यही छालमा सर्फिङ बोट पल्टिने गरेका छन,’ उनले भने, ‘जोडतोडको हावा र छालले त मान्छे सहित बोटलाई नै उडाउने गरेको छ। यसलाई नियमन नगर्ने हो भने तालमाथिको रोमाञ्चक यात्रा जोखिमपूर्ण बन्नेछ।’
Follow @nagarik_news
सर्फिङ बोट
पोखरा फेवाताल
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)