मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

newsofnepal.com · Wed Jun 17 12:10:45 GMT 2026

काठमाडौं ।

जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु मुद्दाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

अवैध रूपमा संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद–बिक्री मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रसुवा उत्तरगया गाउँपालिका–९ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–८ बस्ने ३८ वर्षीय टेकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार तामाङ उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल सुन्धारामा थुनामा रहेका थिए। उनी गत २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागी फरार भएका थिए।

फरार अभियुक्तको खोजीका लागि खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा २०८३ असार २ गते काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खु क्षेत्रबाट तामाङलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले फरार रहेका अन्य व्यक्तिको खोजी कार्यसमेत निरन्तर जारी रहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय