पत्रकार अमर बानियाँको पर्यटकीय पुस्तक ‘सुन्दर म्याग्दी’ सार्वजनिक
setopati.com · Wed Jun 17 12:25:45 GMT 2026

वरिष्ठ पत्रकार अमर बानियाँले आफ्नो जन्मथलोको इतिहास, प्रकृति, संस्कृति र जीवनशैली समेटेर एउटा तस्बिर पुस्तक प्रकाशन गरेका छन्, ‘सुन्दर म्याग्दी’।
‘धौलागिरी पर्यटन विकास परिषद र बेनी समाज काठमाडौं’ले बुधबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्य, पूर्व मुख्य सचिव तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत लोकदर्शन रेग्मी, प्रा.डा. प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा, सङ्घका केन्द्रीय सदस्य सुबिन श्रेष्ठ लगायतले घुम्टो खोली पुस्तक लोकार्पण गरेका हुन्।
पुस्तक लोकार्पण गर्ने अतिथिहरू सहित म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, बानियाँ समाजका अध्यक्ष नरबहादुर बानियाँ, बेनी समाजका पूर्वअध्यक्ष याम श्रेष्ठ, पर्यटन पत्रकार अमृत भादगाउँलेले ‘सुन्दर म्याग्दी’ पुस्तक सबैका लागि सुन्दर उपहार भएको टिप्पणी गरे।
रंगीन कलेवरमा प्रकाशित पुस्तकमा नेपाली र अंग्रेजी भाषामा जानकारी दिइएको छ। म्याग्दीको विषयमा जान्न चाहने अध्येता, पर्यटक र म्याग्देलीलाई यो पुस्तक उपयोगी छ।
यसमा म्याग्दीका गन्तव्यहरू, पदमार्गहरू, सांस्कृतिक सम्पदाहरू, चाडपर्व, होमस्टे, जैविक विविधता आदिको सुन्दर चित्रण गरिएको छ।
धौलागिरि पर्यटन विकास परिषदले प्रकाशन गरेको पुस्तकको मूल्य एक हजार रुपैयाँ राखिएको छ।
वरिष्ठ पत्रकार बानियाँले फोटोग्राफी, पत्रकारिता र सामाजिक काममै जिन्दगी बिताएको बताए।
‘पत्रकारिताबाट मातृभूमि म्याग्दी चिनाउने काम गर्दै आएको छु। त्यही अभियानस्वरूप ‘सुन्दर म्याग्दी’ पुस्तक प्रकाशन गरेको हुँ। पुस्तक विमोचन कार्यक्रममा विशिष्ट वक्ताहरूबाट प्राप्त हौसला र सुझावप्रति कृतज्ञता व्यक्त गर्दछु। जन्मथलोको गुन तिर्न ममा अझै योगदान पुर्याउने ऊर्जा बढेको छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)