के मेसीले आज पहिलो हाफमै रेड कार्ड पाउनुपर्थ्यो ?
nepalpress.com · Wed Jun 17 12:29:29 GMT 2026
एजेन्सी । विश्वकप फुटबलमा अल्जेरियाविरुद्धको खेलमा लियोनल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई ३-० को शानदार जित दिलाए । तर एउटा विवादास्पद ‘फाउल’का कारण उनी आलोचकहरुको निशानामा परेका छन् ।
३८ वर्षीय मेसीले कतार विश्वकपको साढे तीन वर्षपछि पुनः विश्वकपको मैदानमा फर्कँदै सानदार प्रदर्शन गरे । कन्सास सिटी स्टेडियममा भएको खेलमा ह्याट्रिक गरेसँगै उनले विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान (१६ गोल) सँग बराबरी समेत गरेका छन्।
तर, खेलको पहिलो हाफमा मेसी एउटा विवादमा तानिएका थिए । खेलको ३०औँ मिनेटमा मेसीको बुटको तल्लो भाग (स्टड्स) ले अल्जेरियाका खेलाडी ऐसा मान्दीको पिँडुलामा ताकेरै लागेको देखिन्थ्यो। मान्दी पीडाले मैदानमा छटपटाए पनि रेफ्री साइमन मार्सिनियाक र भीएआर (VAR) टोलीले मेसीलाई कुनै पनि किसिमको सजाय दिएनन्।
मेसीले रातो कार्ड नपाएपछि सामाजिक सञ्जालमा कयौँ फुटबल फ्यानहरूले चर्को आक्रोश पोखिरहेका छन्। रोनाल्डोका फ्लानहरुले मेसी भएकै कारण रेफ्रीले उनलाई कारबाही नगरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’मा एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो फुटबलका लागि राम्रो संकेत होइन, मेसीले स्पष्ट रातो कार्डबाट उन्मुक्ति पाउनु लज्जास्पद छ।’
अर्का एक फ्यानले व्यङ्ग्य गर्दै लेखेका छन्, ‘मेसी फिफाको छोरा भएकाले उनले रातो कार्ड नपाएका हुन्। अरु कुनै खेलाडी भएको भए मैदानबाट बाहिरिनुपर्ने निश्चित थियो।’
केही फ्यानहरूले भने मेसी र क्रिस्टियानो रोनाल्डोलाई भिडाउनका लागि फिफाले यस्ता गल्तीहरूमा आँखा चिम्लिने गरेको र खेल पहिले नै ‘फिक्स्ड’ हुने गरेको समेत दाबी गरेका छन्।
घटनालाई लापरवाहीपूर्ण र खतरनाक भन्दै इएसपीएन, द एथलेटिक र अन्य अन्तर्राष्ट्रिय मिडियाले पनि आलोचना गरेका छन्। इएसपीएनका पूर्वखेलाडी विश्लेषक एले मोरेनो ले भने, ‘यो १०० प्रतिशत रेड कार्ड हो। मेसीलाई जोगाइएको देखिन्छ।’
धेरै पूर्व खेलाडी र फुटबल विश्लेषकहरूले रेफ्री र भीएआरको निर्णयलाई ‘अत्यन्त ढीलो’ र ‘छनोटपूर्ण व्यवहार’ भनेका छन्। सोसल मिडियामा मेसीविरुद्ध ट्रेन्ड चल्न थालेका छन्।
केहीले भने ‘फाउल लापरवाहीपूर्ण थियो तर गम्भीर चोट नहुँदा पहेँलो कार्ड पर्याप्त हुन सक्थ्यो’ भन्ने मत राखेका छन्।
यस घटनापछि पनि मेसीले १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र अर्जेन्टिनाले ३-० को जित हासिल गर्यो। यो जितसँगै मेसीले विश्वकपमा १६ गोल गर्दै मिरोस्लाभ क्लोजेको रेकर्डसँग बराबरी गरेका छन्।
मेसीको फाउललाई लिएर अहिलेसम्म फिफा वा रेफ्री टिमबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर यो घटना विश्वकपको यो संस्करणको पहिलो ठूलो रेफ्रीङ विवाद बनेको छ।
खेलपछि मेसीले घटनाबारे कुनै टिप्पणी गरेनन्। उनले आफ्नो प्रदर्शन र टिमको जितमा मात्र जोड दिए।यो घटनाले फुटबलमा ुस्टार खेलाडीलाई विशेष व्यवहारु भइरहेको भन्ने पुरानो बहसलाई फेरि एकपटक तताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
फिफा