मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बंगलादेशमाथि अष्ट्रेलियाको जीत

neplays.com · Wed Jun 17 12:35:00 GMT 2026

स्पिनरहरूको कीर्तिमानी प्रदर्शनको मद्दतले अस्ट्रेलियाले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली बंगलादेशमाथि ४ विकेटको सहज जित हात पारेको छ ।

बंगलादेशले दिएको १३२ रनको लक्ष्य अस्ट्रेलियाले १० बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै अस्ट्रेलियाले टी २० शृङ्खलामा विजयी सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले पावरप्लेमा आक्रामक सुरुवात गर्दै ५२ रन जोडे पनि त्यसपछिको ओभरहरूमा अस्ट्रेलियाली स्पिनरहरू हाबी भए ।

बंगलादेशको टोली २० ओभरमा मात्र १३१ रनमा समेटियो । बंगलादेशका लागि महेदी हसनले अविजित २९ रन बनाए ।

अस्ट्रेलियाका स्पिनरहरूले ऐतिहासिक प्रदर्शन गर्दै बंगलादेशका ९ विकेट चट्काए ।

टी-२० अन्तर्राष्ट्रियको एकै इनिङ्समा अस्ट्रेलियाली स्पिनरहरूले ९ विकेट लिएको यो पहिलो पटक हो ।

डेब्यु खेलाडी जोएल डेभिसले १७ रन खर्चेर ३ विकेट लिए भने अनुभवी स्पिनर एडम जाम्पाले १८ रन खर्चेर ३ विकेट हात पारे ।

यसक्रममा जाम्पा टी-२० अन्तर्राष्ट्रियमा १५० विकेट लिने पहिलो अस्ट्रेलियाली र विश्वकै पाँचौँ लेगस्पिनर बने ।

१३२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात पनि मध्यम रहेको थियो ।

प्रारम्भिक ब्याटर जोस इंग्लिस ५ रनमै आउट भए पनि युवा ब्याटर कुपर कनोलीले २७ बलमा ४७ रनको उत्कृष्ट इनिङ खेल्दै जितको आधार तय गरे ।

उनले आफ्नो इनिङ्समा ७ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै टिम डेभिडले २० रन तथा निखिल चौधरी र म्याट रेनशले समान १८-१८ रनको योगदान दिए ।

बंगलादेशका लागि अब्दुल गफार सकलाइनले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उत्कृष्ट बलिङ गरेका एडम जाम्पा खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए ।

जीतसँगै अष्ट्रेलियाले ३ खेलको टी २० सिरिजमा १-० को अग्रता लिएको छ ।

एक दिवसीय सिरिज भने बंगलादेशले २-१ ले आफ्नो पोल्टामा पारेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

सम्बन्धित विषय