नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक पौडेललाई साधारण तारेखमा राख्न आदेश
ratopati.com · Wed Jun 17 12:43:17 GMT 2026

काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको हो।
पौडेलले अदालतमा उपस्थित हुने दिएको निवेदनमाथि बुधबार सुनुवाइ पछि साधारण तारेखमा राख्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा ८ करोड ९५ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौताभित्र रहेको कार्यसम्झौताका सर्त र प्रावधानअनुरूप २८ लाख अमेरिकी डलरमा परामर्शदाता नियुक्त नगरिएको अख्तियारको आरोपत्रमा उल्लेख छ।
अस्वाभाविक रूपमा लागत अनुमान बढाई ५० करोड ३४ लाख ४० हजार ६ सय ९६ रुपैयाँ पुर्याई प्राधिकरण सम्पत्तिबाट अतिरिक्त र दोहोरो बजेट खर्च गरिएको पनि अख्तियारको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग