चिया निर्यातमा कूटनीतिक पहल गर्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह
baahrakhari.com · Wed Jun 17 13:29:46 GMT 2026

काठमाडौं । भारतीय चिया बोर्डले लागु गरेको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यातमा गम्भीर अवरोध उत्पन्न भएपछि नेपाल उद्योग वाणिज्य महासंघले समस्या समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
भारतीय चिया बोर्डले गत मे १ देखि कार्यान्वयनमा ल्याएको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्नुपर्ने अव्यावहारिक नियमका कारण नेपाली चिया उद्योग संकटमा परेको महासंघले जनाएको छ ।
महासंघका अनुसार नयाँ व्यवस्थाले चिया गुणस्तर परीक्षणको रिपोर्ट आउन २० देखि २५ दिनसम्म लाग्ने गरेको छ । निर्यातकर्ताहरूले लामो समयसम्म अनिवार्य गोदाम शुल्क तिर्नुपर्ने बाध्यता छ । परीक्षण रिपोर्ट कमजोर आएमा निर्यात गरिएको चिया नै नष्ट गर्नुपर्ने अव्यवहारिक नियम लागु गरिएको छ ।
यी अवरोधहरूका कारण हाल चिया निर्यात पूर्ण रूपमा ठप्प भएको र यसले उद्योगहरूको नगद प्रवाह रोकिँदा किसानलाई हरियो पत्तीको भुक्तानी गर्न र मजदुरको पारिश्रमिक दिनसमेत कठिन भएको बताइएको छ ।
महासंघका अनुसार नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्रको एक बलियो खम्बाको रूपमा रहेको छ । यस क्षेत्रले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने गरेको छ ।
"वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारत निर्यात गरी व्यापार घाटा न्यूनीकरणमा सहयोग पुर्याउँदै आएको छ । यस क्षेत्रले ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ," महासंघको विज्ञप्तिमा उल्लेख छ, "राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व बुझाउने यो क्षेत्र हाल छिमेकी मुलुकको नीतिका कारण बन्द हुने अवस्थामा पुगेको छ ।"
चिया क्षेत्रमा आश्रित हजारौँ किसान र उद्यमीहरूको भविष्य जोगाउन महासंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेको छ । दीर्घकालीन समाधानका लागि नेपाली वस्तुहरूको गुणस्तर परीक्षण गर्न नेपालमै एक्रेडिटेड ल्याब स्थापना गर्नुपर्ने मागलाई महासंघले पुनः दोहोर्याएको छ ।
महासंघले यस संवेदनशील विषयलाई उच्च प्राथमिकतामा राखी तत्काल भारतसँग कूटनीतिक संवादमार्फत निकास निकाल्न सरकारलाई आग्रह गरेको छ ।
#नेपाल उद्योग वाणिज्य महासंघ
#चिया निर्यात
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
उद्योग वाणिज्य महासंघ