मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'

ratopati.com · Wed Jun 17 14:58:37 GMT 2026

न्यूयोर्क । विश्व तेल बजार क्रमशः सामान्य अवस्थामा फर्किने र सन २०२७ मा आपूर्ति छेलोखेलो हुने अनुमान अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले गरेको छ ।

एजेन्सीको मासिक तेल बजार प्रतिवेदन अनुसार अमेरिका र इरानबीच भएको सम्झौताले स्ट्रेट अफ होर्मुज जलमार्ग पुनः खुल्ने र अमेरिकी नौसैनिक अवरोध हट्ने अपेक्षा गरिएको छ । यसले पछिल्ला तीन महिनामा ऊर्जा आपूर्तिमा भएको ठूलो अवरोध अन्त्य गर्न सक्छ ।

इरान युद्ध सुरु भएयता पश्चिम एसियाबाट दैनिक १ करोड ४० लाख ब्यारेलभन्दा बढी तेल उत्पादन प्रभावित भइरहेको छ ।

यो सम्झौता कायम रह्यो भने खाडी क्षेत्रबाट तेल उत्पादन र निर्यात क्रमशः पुनः सामान्य अवस्थामा फर्किने आईईएले भनेको छ । विशेषगरी प्रतिबन्ध हटेपछि इरानी तेल निर्यात पनि पूर्ण रूपमा पुनः सुरु हुन सक्नेछ । तर संस्थाले दीर्घकालीन रूपमा बजारमा ठुलो आपूर्ति अधिकता देखिने चेतावनी दिएको छ । विश्वव्यापी तेल आपूर्ति करिब ८० लाख ब्यारेल प्रतिदिनले बढ्ने तर माग केवल २० लाख ब्यारेल प्रतिदिनले वृद्धि हुने पहिलो पटक २०२७ सम्मको अनुमान प्रस्तुत गर्दै एजेन्सीले भनेको छ ।

यस अवस्थाले बजारमा तेलको अत्यधिक आपूर्ति अर्थात् छेलोखेलोको अवस्था सिर्जना गर्न सक्ने र मूल्यमा दबाब पर्न सक्ने अनुमान गरिएको छ । आईईएका अनुसार यस्तो अवस्था केही देशहरूका लागि राहतको रूपमा पनि देखिन सक्छ । यसले ती देशलाई घटेको भण्डार पुनः भरिने अवसर दिन सक्छ र देशहरूले आफ्नो रणनीतिक तेल भण्डार पुनः बढाउन सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)