एम्बाप्पे, हालाण्ड र मेसीको शानदार सुरुआत, रोनाल्डोलाई दबाब
nepalpress.com · Wed Jun 17 15:19:43 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ सुरु हुनुभन्दा पहिले नै ती स्टारहरुको चर्चा गरिएको थियो जसले एक्लैले खेलको नतिजा नै बदल्न सक्छन्। उनीहरुमध्ये सर्वाधिक चर्चामा थिए किलियन एम्बाप्पे, लियोनल मेसी, एर्लिङ हलाण्ड र क्रिस्टियानो रोनाल्डो।
एम्बाप्पे, मेसी र हालाण्डले आफ्नो पहिलो खेलमा प्रभाव पारिसकेका छन् भने अब आज राति हुने खेलमा पोर्चुगलका स्टार रोनाल्डोले कस्तो प्रदर्शन गर्लान् भन्नेतिर सबैको चासो रहेको छ। रोनाल्डोमाथि थप दबाब बढेको छ।
एम्बाप्पेले सेनेगलविरुद्ध कीर्तिमानको वर्षा नै गराए। फ्रान्सले सेनेगललाई ३–१ ले हराउँदा एम्बाप्पेले दुई गोल गरे। २७ वर्षीय एम्बाप्पेले यस फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखे । उनले ५८औँ अन्तर्राष्ट्रिय गोल गर्दै ओलिभर जिरुडलाई पछि पारे ।
यस्तै, एम्बाप्पे फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने। उनको विश्वकप गोल संख्या १४ पुगेको छ, जसले जस्ट फोन्टेनको १३ गोलको पुरानो कीर्तिमान तोड्यो। फोन्टेनले सन् १९५८ को विश्वकपको एकै संस्करणमा १३ गोल गरेका थिए ।
यससँगै एम्बाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा उक्लिएका थिए। यद्यपि, उनको यो कीर्तिमान धेरै समय रहेन। अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेसीले उनलाई पछि पारे।
यसअघि नर्वेले विश्वकप खेल्दा एर्लिङ हालाण्ड जन्मिएकै थिएनन्। २८ वर्षपछि विश्वकप खेलेको नर्वेले इराकमाथि ४–१ को रवाफिलो जित निकाल्दा हालाण्डले दुई गोल गरे।
२५ वर्षीय हालाण्डले विश्वकप डेब्यु खेलमै दुई गोल गर्दै राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ५७ पुर्याए। उनले मात्र ५१ खेलमा यो उपलब्धि हासिल गरेका हुन्। उनी नर्वेका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन्।
आज सर्वाधिक चर्चामा रहेका मेसीको पहिलो खेल निकै सुखद् रह्यो। कान्सास सिटी स्टेडियममा साविक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को एकतर्फी जित निकाल्दा सबै गोल मेसीले नै गरे। उनले १७, ६० र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
मेसी यस खेलबाट विश्वकपका ६ संस्करण खेल्ने पहिलो फुटबलर समेत बने। क्रिस्टियानो रोनाल्डोले आज कंगोविरुद्ध खेल्दै यही कीर्तिमान बराबरी गर्ने सम्भावना छ भने मेक्सिकोका अनुभवी गोलकिपर गुइलेर्मो ओचोआले पनि प्रतियोगितामा खेल्न पाए यो सूचीमा सामेल हुनेछन्।
फेरि फर्किउँ मेसीतर्फ नै। यो खेल मेसीको २००औँ अन्तर्राष्ट्रिय खेल पनि थियो। मेसीले सन् २००६ मा १८ वर्षको उमेरमा विश्वकप डेब्यु गरेका थिए।
संयोगले अल्जेरियाविरुद्धको यो खेल उनले अर्जेन्टिनाका लागि पहिलो विश्वकप खेल खेलेको ठीक २० वर्ष पुगेको दिन परेको थियो। २००६ जुन १७ मा उनले सर्बिया र मोन्टेनेग्रोविरुद्ध पहिलो पटक विश्वकपमा मैदान उत्रिएका थिए।
मेसी विश्वकप इतिहासमा लगातार पाँच खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बने। २०२२ विश्वकपका अन्तिम चार खेलमा गोल गरेका उनले २०२६ संस्करणको पहिलो खेलमै त्यो क्रमलाई निरन्तरता दिएका हुन्।
यस्तै, उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कम उमेरका अर्जेन्टिनी खेलाडी बनेका थिए भने अहिले विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाको उमेरका खेलाडी पनि बने।
यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा थियो, जसले २०१८ विश्वकपमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए।
आज राति नेपाली समयानुसार १०ः४५ बजे रोनाल्डोले विश्वकपमा डेब्यु गर्न तयार डीआर कंगोविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछन्। ४१ वर्षीय सुपरस्टारको यो सम्भवतः अन्तिम विश्वकप हो।
अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता रोनाल्डोले पोर्चुगलबाट अन्तर्राष्ट्रिय फुटबलका लागि १४३ गोल गरेका छन्।
विश्वकपमा पोर्चुगलका लागि सर्वाधिक ९ गोलको कीर्तिमान उछिन्न रोनाल्डोलाई थप दुई गोल आवश्यक छ। यदि उनले आजको खेलमा दुई गोल गरे भने पोर्चुगिज लेजेण्ड युसेबियो दा सिल्भा फेरेरालाई पछि पार्नेछन्।
‘ब्ल्याक प्यान्थर’ भनेर चिनिने युसेबियोले सन् १९६६ को फिफा विश्वकपमा सर्वाधिक ९ गोल गर्दै गोल्डेन बुट जितेका थिए भने पोर्चुगललाई तेस्रो स्थान दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
गोल्डेन बुट
फिफा