मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुश्बु ओली भन्छिन्– परिवारअगाडि सन्देश पढ्न नसक्नेले मलाई किन पठायो ?

barnanmedia.com · Wed Jun 17 15:47:38 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत आफूलाई अश्लील, यौनजन्य तथा चरित्रहत्या गर्ने उद्देश्यका सन्देश पठाउने व्यक्तिहरूमाथि कडा टिप्पणी गरेकी छन्।

प्रतिनिधिसभामा आफ्नो धारणा राख्ने क्रममा सांसद ओलीले विशेषगरी ६०–६२ वर्ष उमेर समूहका केही व्यक्तिबाट समेत आपत्तिजनक सन्देश आउने गरेको बताएकी थिइन्। उनले त्यस्ता व्यक्तिलाई कानुनी कारबाही नगर्ने सर्तमा आफ्नो कृत्य परिवारसामु स्वीकार्न चुनौती दिएको खुलासा गरेकी छन्।

ओलीका अनुसार एक व्यक्तिलाई उनले, “तपाईंले मलाई पठाएको सन्देश आफ्नै पत्नी र छोराछोरीको अगाडि पढ्नुस्, म मुद्दा चलाउँदिन,” भनेकी थिइन्। तर ती व्यक्ति त्यसो गर्न नसकेको उनको दाबी छ।

केही साताअघि सांसद ओलीले सामाजिक सञ्जालमा आफूविरुद्ध गालीगलौज, चरित्रहत्या, घृणायुक्त अभिव्यक्ति तथा बलात्कार र शारीरिक आक्रमणका धम्की आएको भन्दै साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

सांसद ओलीले लोकतान्त्रिक समाजमा आलोचना स्वाभाविक भए पनि व्यक्तिगत चरित्रहत्या, अश्लील सन्देश, धम्की र हिंसाको उक्साहट कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै आएकी छन्।

उनको अभिव्यक्ति सार्वजनिक भएपछि संसद् र सामाजिक सञ्जालमा डिजिटल सुरक्षा, महिला जनप्रतिनिधिमाथिको अनलाइन दुर्व्यवहार तथा साइबर अपराध नियन्त्रणबारे बहस तीव्र बनेको छ।

कानुनविद् तथा सरोकारवालाहरूले सामाजिक सञ्जालमार्फत गरिने अश्लील सन्देश, धम्की र चरित्रहत्या जस्ता गतिविधिलाई गम्भीर साइबर अपराधका रूपमा लिएर प्रभावकारी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)