दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
setopati.com · Wed Jun 17 16:09:59 GMT 2026

सम्पत्ति शुद्धीकरणसहित विभिन्न कसुरमा मुछिएका दिपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
'पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दा पुर्पक्षका लागि यी प्रतिवादीहरू दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने…,' आदेशमा भनिएको छ।
त्यस्तै अग्रवालको हकमा स्वास्थ्य उपचारलाई मध्यनजरमा राख्न भनिएको छ।
'प्रतिवादी सुलभ अग्रवालको स्वास्थ्य अवस्था समेतलाई मध्यनजरमा गरी आवश्यकता अनुसार निजको स्वास्थ्योपचारका लागि उचित व्यवस्था गर्नू भनी सम्बन्धित कारागार कार्यालयलाई लेखी पठाउनू,' आदेशमा भनिएको छ।
अदालतले भट्टको ०१- ०३३ च १ नम्बरको गाडी व्यवस्थापनका लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन पनि आदेश दिएको छ।
अदालतमा पेस भएका मोबाइललाई अदालतको जिन्सीमा आम्दानी बाँध्नू भनेर पनि भनिएको छ।
त्यस्तै उनीहरूबाट बरामद भएका विदेशी विनिमय अमेरिकी डलर र थाइ भाट नेपाल राष्ट्र बैंकमा पठाउन पनि भनिएको छ।
भट्ट र अग्रवालविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो।
अनुसन्धान गरी उनीहरूविरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको थियो।
बीमा ऐन सम्बन्धी कसुर, बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत कसुर गरेको आरोप उनीहरूमाथि छ।
त्यस्तै धितोपत्र सम्बन्धी कसुर र विदेशी विनिमय ऐन सम्बन्धी कसुर अन्तर्गत पनि कसुर गरेको आरोप छ।
भट्टको हकमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रूपैयाँ बिगो कायम गरेको देखिन्छ।
अग्रवालको हकमा २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रूपैयाँ बिगो कायम गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)