मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कीर्तिपुरको होल्डिङ सेन्टरका ६५ परिवारमध्ये ५३ सुकुम्वासी प्रमाणित, ५ परिवारको जग्गा फेला

baahrakhari.com · Wed Jun 17 16:16:39 GMT 2026

काठमाडौं । कीर्तिपुरको राधास्वामी सत्संग ‘होल्डिङ सेन्टर’मा राखिएका ६५ सुकुम्वासी परिवारको ‘भेरिफिकेसन’ सकिएको छ । तिनमा पाँच परिवारसँग मात्र जग्गा भएको फेला परेको छ ।

तीन परिवारको विवरण अस्पष्ट हुँदा जग्गा भए नभएको टुंगो लागेको छैन । चार परिवारले आवश्यक पर्ने कागजातसहितका विवरण उपलब्ध गराउन नसक्दा उनीहरूको केही विवरण प्राप्त हुन नसकेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार, ५३ परिवार सुकुम्वासी प्रमाणित भएका छन् । केही परिवारले केही वर्षअघि जग्गा बेचेको भेटिएको छ ।

“जग्गा बेचेको पाइएकाहरूले दलालमार्फत पछि आफ्नै बनाउने आसमा सुकुम्वासी बस्तीमै जग्गा किनेको हुन सक्छ,” स्रोतले भन्यो, “यो विषय सम्बन्धित व्यक्तिले भने मात्र खुल्न सक्छ ।”

केही समयअघि सुकुम्वासी बस्तीमा जग्गा किनबेच समेत भएको भनी मन्त्रालयलाई अनौपचारिक जानकारी आएको ती अधिकारीले जानकारी दिए ।

सरकारले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत अन्यत्रका होल्डिङ सेन्टरमा राखिएका ३८८ परिवारको डिजिटल तथ्यांक तयार पारेर सहरी विकास मन्त्रालयमा पठाएको थियो ।

उक्त विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पठाएको थियो । विभागले डिजिटल रूपमा प्राप्त ३८८ परिवारका एक हजार ४८८ सदस्यहरूको तीनपुस्ते विवरण भिडाउँदै सुकुम्वासी भए या नभएको जाँचेको थियो ।

त्यसरी विवरण जाँच हुँदा हालसम्म कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीको मात्र तथ्यांक तयार भएको भूमि समस्या समाधान आयोगका सूचना अधिकारी सञ्जीवकुमार साहले जानकारी दिए ।

उनका अनुसार, बनेपाको रेडक्रस तालिम केन्द्र होल्डिङ सेन्टरको पनि भेरिफिकेसन अन्तिम चरणमा पुगेको छ । उक्त होल्डिङ सेन्टरमा केही त्रुटि भेटिएपछि पुनः भेरिफिकेसनको काम भइरहेको उनले जानकारी दिए । बनेपाको रेडक्रस तालिम केन्द्र होल्डिङ सेन्टरमा ४५ परिवारका १९४ सदस्य छन् ।

कुन सेन्टरमा कस्तो विवरण प्राप्त भयो भन्ने जानकारी मन्त्रालयमार्फत सार्वजनिक हुने जानकारी साहले दिए ।

भूमि व्यवस्था मन्त्रालय स्रोतले औपचारिक रूपमा विवरण प्राप्त नभइसकेको जानकारी दिएको छ । अनौपचारिक रूपमा एउटा होल्डिङ सेन्टरको विवरण प्राप्त भएको पुष्टि गरेको छ ।

सरकारले वैशाख १२ र १३ गते डोजर लगाउँदै काठमाडौं उपत्यकाको नदी किनाराका सुकुम्वासीहरू हटाएको थियो । त्यसपछि सरकारले तिनलाई दशरथ रंगशालामा सम्पर्कका लागि डाकेको थियो ।

दुई दिनसम्म सम्पर्कमा आएका परिवारको संख्या दुई हजार ६०८ थियो । सरकारले सञ्चालन गरेका सात होल्डिङ सेन्टरमा ३८८ परिवारका १४८८ सदस्य रहेको तथ्यांक छ ।

त्यसबाहेकका सुकुम्वासी परिवारहरू आफ्नै ढंगले बसेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

समितिका सूचना अधिकारी टोपबहादुर बानियाँका अनुसार, होल्डिङ सेन्टरका सुकुम्वासीहरूको प्रमाणीकरण अन्तिम भएपछि चरणबद्ध रूपमा बाँकी सुकुम्वासीहरूलाई प्रमाणीकरणका लागि डाकिनेछ ।

कुन होल्डिङ सेन्टरमा कति छन् सुकुम्वासी ?

सरकारले काठमाडौं उपत्यकाका सुकुम्वासी परिवारसँगको समन्वय अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट गरिरहेको छ ।

समितिले घर नभएका सुकुम्वासी घरधुरी र संख्या खुलाउन डिजिटल लगत तयार पारेको छ । त्यसरी तयार पार्दा सातवटा होल्डिङ सेन्टरमा ३८८ घरधुरी र एक हजार ४८८ रहेको डिजिटल तथ्यांक तयार भएको छ ।

१. बालाजु माछापोखरी होल्डिङ सेन्टरमा ८७ घरधुरी छन् । ती परिवारमा २९४ सदस्य छन् ।

२. कीर्तिपुरस्थित राधास्वामी आश्रममा ६५ घरधुरीका २७७ जना छन् ।

३. भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा ९९ घरधुरी बस्छन् । ती परिवारमा आबद्ध सदस्यहरूको संख्या ३५५ छ ।

४. भक्तपुरकै बोडेस्थित कृषि तालिम केन्द्रमा २४ परिवारमा ११५ जना छन् ।

५. भक्तपुरकै नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा २१ परिवारका ८० जना छन् ।

६. काभ्रेपलाञ्चोकको बनेपास्थित रेडक्रस तालिम केन्द्रमा ४५ परिवार छन् र जहाँ १९५ जना बस्छन् ।

७. इचङ्गुनारायणस्थित अपार्टमेन्टमा ४७ परिवारका १७२ जना छन् ।

#सुकुम्वासी

#रमेश वाग्ले

#होल्डिङ सेल्टर

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय