अभिनेत्री मिथिला शर्माद्वारा गुरुहरुलाई सम्मान
kalakarmi.com · Fri Jul 11 06:33:33 GMT 2025

काठमाडौं– अभिनेत्री तथा तथा नृत्य कलाकार मिथिला शर्माले गुरु पूर्णिमाको अवसर पारेर आफ्नो कला यात्राका गुरुहरुको सम्मानस्वरुप कला क्षेत्रका विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरेकी छिन् ।
अभिनेत्री शर्माले आफू वरिष्ठ सल्लाहकार रहेको नेपाल पूर्व प्रहरी कलाकार संघमार्फत आफ्ना गुरुहरुको नाममा स्थापित सम्मानबाट कलाकारहरुलाई सम्मान गरेकी हुन् ।
प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभा हलमा सम्पन्न संघको प्रथम वार्षिकोत्सव तथा दोस्रो स्रष्टा सम्मान कार्यक्रममा नृत्य र अभिनय करियरका गुरुहरुलाई गुरु दक्षिणास्वरुप उनीहरुको नाममा स्थापना गरेको सम्मान प्रदान गरेकी हुन् ।
कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई राजपाल थापा नृत्य साधना सम्मान २०८२, साहित्यकार रमण घिमिरेलाई चेतन कार्की गीति वाङ्मय सम्मान २०८२, वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई गोपाल योञ्जन संगीत साधना सम्मान २०८२ तथा वरिष्ठ कलाकार बसुन्धरा भुसाललाई हाडा एण्ड पाल हास्य वाङ्मय सम्मान २०८२ बाट सम्मानित गरिएको हो । संगीतकार गुरुङ देशबाहिर रहेका कारण उनको सम्मान उनकै छोरा रजय गुरुङले ग्रहण गरेका थिए ।
प्रमूख अतिथि प्रहरी महानिरिक्षक दीपक थापा, पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरा, अभिनेता तथा रंगकर्मी हरिहर शर्मा, अभिनेत्री भूवन चन्द, चैत्यदेवी, मिथीला शर्मा, गौरी मल्ललगायतले सम्मानित कलाकारहरुलाई सम्मान प्रदान गरेका थिए ।
समारोहमा बोल्दै संघकी सल्लाहकार मिथिला शर्माले आफू जन्मिएको ठाउँमा उभिएर गुरुहरुलाई सम्मान गर्न पाउँदा भावूक भएको बताईन् ।
‘अभिनय, गायन र नृत्यका मेरा गुरुहरुलाई गुरु दक्षिणास्वरुप यो सम्मान स्थापना गरेकी हुँ । विगतले अंश माग्दैन । तर ३ सय ६५ दिनमा यो विशेष एक दिन गुरुहरुलाई सम्झिएर यो कार्यक्रम गर्दा गुरुहरु चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुव रत्न हाडाको गर्विलो ईतिहास सम्झिईरहेकी छु । आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन । तर पनि उहाँहरुको नाममा केहि गरेर सदा आशीर्वाद पाईरहुँ जस्तो लाग्छ’ कार्यक्रममा अभिनेत्री शर्माले भनिन् ।
प्रहरी महानिरीक्षक दीपक थापाले संघको वार्षिकोत्सव मात्रै नभई रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम भएको चर्चा गर्दै आफू स्रष्टा कलाकार नभए पनि संगठन तथा व्यक्तिगत तर्फबाट संघलाई सहयोग गर्ने घोषणा गरे ।
सम्मानित कलाकारको तर्फबाट बोल्दै अभिनेत्री बसुन्धरा भुषालले २०२३ सालमा श्रीमान तथा आफ्नो भेट प्रहरी क्लबमै नृत्य गर्ने क्रममा भएको स्मरण गर्दै आज सोही क्लबमा सम्म्मानित हुन पाउँदा भावुक भएको बताईन् ।
‘मेरो श्रीमानसंग प्रहरी क्लबमै भेट भएको थियो । श्रीमान प्रहरी कलाकार नभएको भए अगाडि आउन सक्दिन थिएँ होला । त्यो बेला मेरो प्रिय बाल कलाकार मिथिला बहिनी थिईन् । आज उनैले यो हलमा कार्यक्रम गरेर सम्मान गर्दा निकै भावूक भएकी छु । मैले अभिनय गर्दा जोकर्नी भनेर हेपिन्थ्यो । तर यहि क्षेत्रबाट यो उच्च सम्मान पाउँदा अन्य विभिन्न सम्मानभन्दा निकै महत्वपूर्ण सम्मान पाएको महसुस गरेकी छु । मिथिलाले कस्तो सम्मान गर्यो भने सम्मानपूर्वक योसँगको रकम पनि खुलाएको छैन । म गुरु भेटी सम्झेर आज दिईएको खाम नखोली राख्छु’ भुषालले भनिन् ।
कार्यक्रममा प्रहरी कलाकारहरुले विभिन्न गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)