मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

महिला टी–२० विश्वकपमा भारतको लगातार जित

neplays.com · Wed Jun 17 17:14:00 GMT 2026

महिला टी-२० विश्वकप २०२६ अन्तर्गत बुधबार लीड्समा खेलिएको खेलमा भारतीय महिला टोलीले नेदरल्यान्डलाई ९५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो विजयी यात्रालाई कायमै राखेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०९ रनको विशाल योगफल खडा गरेको थियो, जुन भारतीय महिला टोलीले टी-२० विश्वकपको इतिहासमा बनाएको अहिलेसम्मकै सर्वोच्च स्कोर हो । २१० रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्डको टोली भारतीय बलरहरूको कसिलो बलिङसामु टिक्न नसकी १७.३ ओभरमा मात्र ११४ रनमा अलआउट हुन पुग्यो । पहिलो खेलमा पाकिस्तानलाई हराएको भारतको यो प्रतियोगितामा लगातार दोस्रो जित हो र यसले टोलीको सेमिफाइनल यात्रालाई थप सहज बनाएको छ ।

भारतलाई ऐतिहासिक स्कोरतर्फ डो¥याउन प्रारम्भिक ब्याटरद्वय शेफाली वर्मा र उप-कप्तान स्मृति मन्धानाले पहिलो विकेटका लागि आक्रामक शतकीय साझेदारी गर्दै बलियो जग बसालेका थिए ।

खेलमा उत्कृष्ट ब्याटिङ गरेकी शेफालीले ३२ बलमै अर्धशतक पूरा गर्दै ३८ बलमा ५५ रन बनाइन् भने मन्धानाले ४७ बलमा ११ चौका र १ छक्काको मद्दतले ७४ रनको उत्कृष्ट इनिङ्स खेलिन् । मध्यक्रममा जेमिमा रोड्रिग्जले २३ र यास्तिका भाटियाले ३ रन जोडेपछि भारतले बलियो योगफल तयार पारेको थियो ।

नेदरल्याण्डकी क्यारोलिन डी ल्याङ्गेले २ विकेट लिइन् । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्डका लागि ओपनर हीदर साइगर्सले बनाएको २१ रन नै सर्वाधिक रह्यो । नीदरल्यान्डको ब्याटिङ ध्वस्त पार्ने क्रममा भारतकी श्री चरणीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिइन् भने ब्याटिङमा चम्किएकी शेफाली वर्माले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट हात पारिन् । त्यस्तै नन्दनी शर्माले २ र दीप्ति शर्माले १ विकेट लिएपछि भारतले सहज जित दर्ता ग¥यो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

टिप्पणीहरू