राष्ट्रिय आर्थिक गणना अब असार ७ सम्म मात्रै
baahrakhari.com · Wed Jun 17 17:46:47 GMT 2026

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको राष्ट्रिय आर्थिक गणना, २०८२ मा सहभागी हुन सबै उद्यमी, व्यवसायी र सेवा प्रदायक संघ–संस्थाहरूलाई अपिल गरेको छ । गत वैशाख २ देखि सुरु भएको यो स्थलगत तथ्यांक संकलन कार्य आगामी असार ७ गतेसम्म देशभर जारी रहनेछ ।
कार्यालयका अनुसार, हालसम्म देशभर खटिएका ३,९०६ गणकहरू मार्फत १२ लाख ९८ हजारभन्दा बढी प्रतिष्ठानहरूको विवरण संकलन भइसकेको छ । यो गणना मुलुकको सम्पूर्ण आर्थिक गतिविधिको आधारशिलाका रूपमा रहेको र यसले देशको अर्थतन्त्रको वास्तविक आकार मापन गर्न ठूलो सहयोग पुर्याउने विश्वास लिइएको छ ।
यस गणनाबाट देशभर सञ्चालित उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी, तथा निजी र सार्वजनिक संस्थाहरूको संख्या, लगानी, रोजगारीको अवस्था र उत्पादनका स्वरूप जस्ता महत्त्वपूर्ण विवरणहरू संकलन गरिन्छ ।
“प्राप्त तथ्यांकले देशको कुल गार्हस्थ्य उत्पादनको अनुमानलाई सुदृढ बनाउनेछ । अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना र नीति निर्माणमा सहयोग पुग्नेछ । लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र सन्तुलित विकासका लागि मार्गप्रशस्त गर्नेछ,” कार्यालयको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले उपलब्ध गराइएका विवरणहरू तथ्यांक ऐन, २०७९ अनुसार पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता जनाएको छ । संकलित विवरणहरू केवल सामूहिक रूपमा तथ्यांकीय प्रयोजनका लागि मात्र प्रयोग गरिने र व्यक्तिगत वा संस्थागत पहिचान खुल्ने गरी सार्वजनिक नगरिने स्पष्ट पारिएको छ ।
छुटेको भए के गर्ने ?
यदि कुनै कारणबस कुनै प्रतिष्ठान वा व्यवसाय गणनामा सहभागी हुन छुटेको भए, सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालय वा कार्यालयको टोल फ्री नम्बर ११७८ मा २०८३ असार ७ गतेभित्र सम्पर्क गरी आफ्नो विवरण उपलब्ध गराउन कार्यालयले पुनः अनुरोध गरेको छ ।
यो महाअभियानलाई सफल पार्न सम्पूर्ण सरोकारवालाहरूको सक्रिय र अर्थपूर्ण सहभागिताका लागि प्रवक्ता तथा उप प्रमुख तथ्याङ्क अधिकारी डुण्डीराज लामिछानेले आग्रह गरेका छन् ।
#राष्ट्रिय तथ्यांक कार्यालय
#आर्थिक गणना
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
राष्ट्रिय तथ्यांक कार्यालय