टिचिङको ओपीडी सेवा प्रविधिमैत्री बनाउन महानगरले गर्यो १ करोड ७० लाख सहयोग
nagariknews.nagariknetwork.com · Thu Jun 04 09:03:19 GMT 2026

काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लाई उच्च प्रविधियुक्त बहिरङ्ग (ओपीडी) सेवा सञ्चालनका लागि १ करोड ७० लाख रुपैयाँ बराबरको अत्याधुनिक प्राविधिक उपकरण सहयोग गरेको छ।
अस्पतालमा उपचारका लागि आउने बिरामीले व्यहोर्नुपर्ने लामो लाइनको झन्झट अन्त्य गर्दै स्वास्थ्य सेवालाई सहज बनाउन महानगरले सो सहयोग उपलब्ध गराएको हो।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक समारोहका बीच अस्पताल व्यवस्थापनलाई उक्त उपकरणहरू हस्तान्तरण गरिन्।
महानगरपालिकाका अनुसार अस्पताललाई १६ थान इन्टरयाक्टिभ किओक्स मेसिन र ६५ थान ‘अल इन वन’ डेस्कटप कम्प्युटर प्रदान गरिएको छ। यी उपकरणको प्रयोगबाट बिरामीले घरबाटै उपचार शुल्क भुक्तानी गर्न सक्ने, अस्पतालमा आफैं रिपोर्ट प्रिन्ट गर्न मिल्ने र दर्ता प्रक्रिया सहज हुने जनाइएको छ।
उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डङ्गोलले अस्पतालमा सेवा लिन घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाएर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन महानगरले सहकार्य गरेको बताइन्।
‘बिरामी र बिरामीका आफन्तलाई अस्पताल पुग्दा त्यसै पनि पीडा भइरहेको हुन्छ, उहाँहरूलाई उपचार गराउने क्रममा थप सास्ती र सकस नहोस् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन्।
कार्यवाहक प्रमुख डङ्गोलले प्रविधिको उच्चतम प्रयोगमार्फत अस्पतालको भीड व्यवस्थापन र सेवा प्रवाहमा आमूल सुधार ल्याउन सकिने विश्वास व्यक्त गरिन्।
यसअघि बिरामीहरू घण्टौं लाइनमा बस्नुपर्ने र रिपोर्ट लिन समेत लामो समय कुर्नुपर्ने अवस्था थियो। अब जडान गरिएका नयाँ प्रविधिले पैसा सङ्कलन, नाम दर्ता र रिपोर्ट वितरण प्रक्रियालाई पूर्णतः स्वचालित र छिटो बनाउने अस्पताल प्रशासनले जनाएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ