मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिवेणीमा निर्माणाधीन पुलको काम अघि बढेन

barnanmedia.com · Wed Dec 11 21:49:00 GMT 2024

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र छ । क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेको छ तर उसले पनि दुई वर्षभन्दा बढी समयदेखि काम गर्न सकेको छैन ।

भेरी कोरिडोरबीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडकसमेत निर्माण हुन मुस्किल भएको छ । तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीमा एक सय मिटर लामो पक्की पुल निर्माण गर्ने भनिएको थियो । रु १५ करोडमा उक्त पुल निर्माण गर्ने भन्दै पाँच वर्षअघि ठेक्का दिइएको थियो । क्याराभान कन्ट्रक्सनबाट रु १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा त कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेको स्थानीयको आरोप छ । यसले एक सय छ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा समेत बाधा पुग्ने देखिएको छ । हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामग्री आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो । पुल समयमै नबन्दा आयोजनाको निर्माणकार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकार भएका निकायले चिन्ता व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)