मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

विश्व

अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार

barnanmedia.com · Wed Jun 17 20:15:00 GMT 2026

चन्द्र अभियानमा सहभागी हुने पहिलो महिला अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई मानवताको प्रगति र अन्तरिक्ष अन्वेषणमा योगदान पुर्याएकोमा स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियास अवार्ड फर कन्कर्ड’ प्रदान गरिने भएको छ ।

पुरस्कारको निर्णायक मण्डलले बुधबार कोचको करियर भावी पुस्ता, विशेषगरी महिलाका लागि प्रेरणाको स्रोत बनेको जनाएको छ । निर्णायक मण्डलका अनुसार कोचको उपलब्धिले कडा परिश्रम, सहकार्य र सहानुभूतिमार्फत चुनौती तथा प्रतिकूलतालाई पार गर्ने मानव क्षमतालाई प्रतिबिम्बित गर्छ ।

सचालिस वर्षीया कोच हालै सम्पन्न आर्टेमिस–२ मिसनको चार सदस्यीय टोलीमा सहभागी भएकी थिइन् । उक्त अभियान ५० वर्षभन्दा बढी अवधिपछि चन्द्रमाको वरिपरि गरिएको पहिलो मानवयुक्त उडान थियो ।

कोचलाई भविष्यमा चन्द्र सतहमा अवतरण गर्ने अभियानका लागि सम्भावित उम्मेदवारका रूपमा पनि हेरिएको छ । आर्टेमिस–२ टोलीले पृथ्वीबाट चार लाख छ हजार ७७१ किलोमिटर दूरीसम्म यात्रा गर्दै मानवअन्तरिक्ष यात्राको नयाँ कीर्तिमानसमेत बनाएको थियो ।

यसअघि कोचले महिलाद्वारा गरिएको सबैभन्दा लामो अन्तरिक्ष बसाइको कीर्तिमान कायम गरेकी छन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा लगातार ३२८ दिन बिताएकी थिइन् । साथै, उनले आफ्नो सहकर्मी जेसिका मेयरसँग मिलेर पूर्णरूपमा महिलाले गरेको पहिलो अन्तरिक्षयात्रामा पनि सहभागिता जनाइसकेकी छन् ।

पचास हजार युरो राशिको ‘कन्कर्ड’ पुरस्कार स्पेनी सिंहासनकी उत्तराधिकारी राजकुमारी लियोनोरको नाममा स्थापित फाउन्डेसनद्वारा वार्षिक रूपमा प्रदान गरिने आठ प्रतिष्ठित पुरस्कारमध्ये एक हो । यस पुरस्कारले मानव सहअस्तित्व, एकता र अन्तरराष्ट्रिय सहयोगलाई प्रवद्र्धन गर्ने व्यक्ति वा संस्थालाई सम्मान गर्ने गर्दछ ।

यसअघि उक्त पुरस्कार मेरीज मील्स, जोस एन्ड्रेस तथा कोभिड–१९ महामारीका बेला सेवा पुर्याएका स्पेनी स्वास्थ्यकर्मीलाई प्रदान गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

टिप्पणीहरू