किसानको सारथि बन्दै ‘समुन्नति’
gorkhapatraonline.com · Mon May 25 01:21:28 GMT 2026

केही वर्षअघिसम्म दाङको देउखुरी क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन्थ्यो । बजारको अभाव, व्यापारीको एकाधिकार र उचित मूल्य नपाउँदा किसान निराश थिए । बिहान सबेरै उठेर डोको, गैँजा र छिटवामा तरकारी बोकेर बजार धाउनुपर्ने बाध्यता यहाँका किसानको दैनिकी थियो ।
अहिले भने अवस्था फेरिएको छ । किसानले उत्पादन गरेको तरकारी सहज रूपमा बिक्री हुन थालेपछि उनीहरूमा नयाँ उत्साह थपिएको छ । यसको मुख्य आधार बनेको छ
लमही नगरपालिका–२, केरुनियाँमा सञ्चालनमा रहेको समुन्नति तरकारी सङ्कलन तथा प्रशोधन केन्द्र ।
समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित केन्द्रले किसान र बजारबिचको दुरी घटाउँदै स्थानीय कृषकलाई राहत दिएको छ । सहकारीका बजार व्यवस्थापक सुरजलाल चौधरीका अनुसार केन्द्रले दैनिक एक हजार पाँच सयदेखि दुई हजार केजीसम्म तरकारी सङ्कलन गर्दै आएको छ ।
लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी सहकारीले बारीमै पुगेर खरिद गर्ने गरेको उहाँले बताउनुभयो । “पहिला किसानले बजार खोज्दै बिहानै तरकारी बोकेर हिँड्नु पथ्र्यो,” चौधरीले भन्नुभयो, “अहिले त्यो समस्या हटेको छ । धेरै उत्पादन भए हामी सहकारीको गाडी लिएर किसानकै खेतसम्म पुग्छौँ ।”
डेढ वर्षदेखि सञ्चालनमा रहेको सङ्कलन केन्द्रले सबै प्रकारका तरकारी खरिद गर्दै आएको छ । किसानले आधा केजी मात्र तरकारी ल्याए पनि खरिद गर्ने व्यवस्था गरिएको सहकारीले जनाएको छ । सङ्कलित तरकारी ग्रेडिङ गरेर बाँके, बुटवल, पाल्पा, प्युठान, रोल्पा तथा दाङका विभिन्न बजारमा पठाइन्छ । माग अनुसार अन्य जिल्लामा समेत तरकारी आपूर्ति गरिने गरिएको छ ।
तरकारीसँगै सहकारीले किसानले उत्पादन गरेका खसी, बोका, धान, गहुँ, मकै र तोरीसमेत खरिद गर्दै आएको छ । सहकारी आफैँले बजार व्यवस्थापन गरिदिने भएकाले किसानलाई बिक्रीको चिन्ता हटेको छ । कतिपय व्यापारी नै सहकारीमा आएर कृषि उपज खरिद गर्ने गरेका छन् ।
२०७१ सालमा ३१ जना सदस्यबाट सुरु भएको सहकारीमा अहिले ८१० किसान आबद्ध छन् । सदस्यले मासिक दुई सयदेखि पाँच हजार रुपियाँसम्म बचत गर्दै आएका छन् । कृषि उपजको बजारीकरणसँगै सहकारीले किसानलाई बचत, उद्यमशीलता र आर्थिक सशक्तीकरणमा समेत जोड्दै आएको छ ।
सहकारीको आफ्नै भवनसमेत निर्माण भएको छ । भवन निर्माणका लागि सघन सहरी भवन कार्यालयले एक करोड रुपियाँ सहयोग गरेको थियो भने ग्रामीण महिला उत्थान केन्द्रले हेफर इन्टरनेसनलमार्फत ११ लाख रुपियाँ सहयोग गरेको जनाएको छ । सहकारीले आफ्नै लगानीमा थप साढे नौ लाख रुपियाँ खर्च गरेर दुई वटा भवन निर्माण गरेको हो ।
स्थानीय किसानका अनुसार बजारको समस्या हटेपछि अहिले धेरै किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । महिला किसानले उत्पादन गरेको तरकारीको बजारीकरणमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ ।
तरकारी सङ्कलन तथा प्रशोधन केन्द्र सञ्चालनका लागि हेफरको सहयोगमा ग्रामीण महिला उत्थान केन्द्रमार्फत सञ्चालित आइएएलभिसी परियोजनाले समेत सहयोग गर्दै आएको परियोजना संयोजक हिरालाल खड्काले बताउनुभयो । उहाँका अनुसार परियोजनाले कर्मचारी तथा प्रशासनिक खर्चका लागि नौ लाख १० हजार रुपियाँ तथा प्याकेजिङ र ग्रेडिङका लागि नौ लाख ४५ हजार रुपियाँ बराबरका सामग्री सहयोग गरेको छ ।
समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था अहिले किसानको उत्पादनलाई बजारसँग जोड्ने मात्र होइन, ग्रामीण महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रभावकारी केन्द्रका रूपमा समेत स्थापित हुँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)