मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एडीबीले सन् २०२४ मै भनेको थियो, फिर्केखोला अतिक्रमण भएको छ पहिला समाधान गर्नुपर्छ

baahrakhari.com · Mon May 25 01:23:00 GMT 2026

पोखरा । दक्षिण कोरियाको सिओल, थेम्स, वासिङटनको एनाकोस्टिया, ल्याटिम अमेरिकाको रिचुलियोको उदाहरण दिँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्केखोलालाई त्यस्तै बनाउने उद्घोष गरे । आइतबार पोखरा महानगरपालिकाले फिर्के अतिक्रमण भएका तीनवटा क्षेत्रमा डोजर लगाएको छ ।

आफैँ फिल्डमा उत्रिएका आचार्यले त्यसपछिको प्रतिक्रियामा विदेशी राष्ट्रमा नदी संरक्षणको उदाहरण दिँदै फिर्केलाई पनि त्यस्तै बनाउने बताए ।

महानगरले फिर्केका संरचना २०८० सालमा नै नहटाउन खोजेको भने होइन । त्यतिबेला पनि ३५ दिने सूचना जारी भएको थियो । तर, उक्त विषय अदालतमा पुग्यो ।

त्यतिबेला भने अदालतले अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि उक्त कार्य रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

“अहिले अदालतबाट महानगरपालिकाकै पक्षमा आदेश प्राप्त भएपछि उक्त प्रक्रिया पुनः अगाडि बढाइएको छ,” आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

महानगरपालिकाले पछिल्लोपटक वैशाख ६ गते तीन दिनभित्र अतिक्रमित संरचना खाली गर्न भनेको थियो । अन्यथा महानगरले आफैँ हटाउने र लागेको शुल्क सम्बन्धित व्यक्तिबाट असुल्ने सूचना जारी गरेको थियो ।

आइतबार भने पोखरा महानगरपालिकाले फिर्के बहने वडा नं. २ र १८ को सीमाना अँधेरीकुना हुँदै वडा नं. ४, वडा ४ र ५ को सीमामा रहेको फिर्केपुलमा बनेको बूढानीलकण्ठ मन्दिर हुँदै वडा नं. ५ र ८ तथा पोखरा ७ र ८ को सीमाना जिरोकिलोमिटरमा रहेको लायन्स भवनसँगै लेकसाइडतिरका क्षेत्रमा बनेका अतिक्रमित संरचना खालीको थालनी गरेको छ ।

संयोग के छ भने, आचार्यले जुन समयमा फिर्के करिडोरको सौन्दर्यीकरण भनेर प्रतिक्रिया दिए, नियमित रुपले काम भएको भए अहिले उक्त कार्य सम्पन्न भइसकेको हुने थियो ।

सन् २०२४ मा सुरु गर्ने र २०२६ को अन्तिमसम्म सक्ने भनेर दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले पोखराको दिगो पर्यटनको सम्भावनालाई उपयोग गर्दै सहरी जीवनस्तर सुधार गर्ने र पोखरामा हरित अर्थतन्त्र विस्तारको लक्ष्यसहित फिर्के करिडोर परियोजनामा लगानी गर्ने प्रस्ताव राखेको थियो । तर, त्यतिबेलाको अदालती झमेलाका कारण समयमा काम हुन सकेन ।

एडीबीले त्यतिबेला फिर्केखोला करिडोर विकाससहित सेती गर्ज र सेती नदीमा बोटानिकल गार्डेनको परियोजना अगाडि बढाउन खोजेको थियो । प्रोजेक्ट ‘ए १’ को रूपमा फिर्के करिडोरलाई राखिएको थियो ।

एडीबीले बागलुङ बसपार्कदेखि फिर्के मुहान अँधेरीकुनासम्मको साढे दुई किलोमिटर क्षेत्रमा साइकल र फुट ट्रयाक निर्माण, गाइघाट क्षेत्र (फेवाताल) मा पार्क, ग्रीन बेल्ट, ड्रेनेज निर्माण लगायतका काम यो परियोजनामा हुने उल्लेख गरेको थियो ।

पहिलो ६ महिना योजना बनाउने र त्यसपछिको १८ महिनामा कार्यान्वयन गर्ने योजना एडीबीको थियो ।

यसको लागि पुँजीगत खर्च पाँच मिलियन अमेरिकी डलर (६६ करोड ७५ लाख तत्कालीन दररेट अनुसार), सञ्चालन खर्च प्रतिवर्ष एक लाख डलर र क्षमता विकासका लागि थप दुई लाख डलर लाग्ने अनुमान थियो ।

एडीबीले त्यतिबेलै आफ्नो प्रतिवेदनमा सहरी क्षेत्रमा खोलाको अत्यधिक अतिक्रमण भएको, समुदायको सहभागितामा यसको समाधान हुनुपर्ने र फिर्केखोला आसपासका केही स्थानमा सामुदायिक सुविधा विस्तार गर्न सकिने सुझाव दिएको थियो ।

यो करिडोरलाई पदयात्रा मार्ग बनाउनका लागि यसअघिका नगरप्रमुख मानबहादुर जिसीको पालामा पनि ३० लाख विनियोजन गरिएको थियो । फिर्केको मापदण्ड कायम गराउने भन्दै २०७५ असार २ गते आफैँले डोजर चलाउँदा जिसी घाइते भएका थिए ।

सिओलको त्यो परियोजना

आचार्यले नाम लिएर उदाहरण दिएको चेङ्ओङग्ये दक्षिण कोरियाको राजधानी सिओलको बीचमा रहेको छ । सिओललाई उत्तर र दक्षिणमा विभाजित गर्ने यो नदी ५१४ किलोमिटर लामो छ । सन् १९७० अघिसम्म यो नदी सुन्दर र स्वच्छ थियो । तर, तीव्र सहरी र औद्योगिकीकरणसँगै प्रदूषित बन्यो । सन् २००३ मा सिओल महानगरले यो नदीलाई पुनर्जीवन गर्ने योजना कार्यान्वयनमा ल्यायो ।

परियोजनाअन्तर्गत हान नदीबाट त्यसमा १२ हजार क्युविक मिटर पानी झारियो । प्रदूषित पानी मिसाउन बन्द गरियो । २७ महिने परियोजनापछि ५.८४ किलोमिटर मुख्य सहरी क्षेत्रमा रहेको नदी स्वच्छ बन्यो भने हिजो नाक थुन्नुपर्ने ठाउँ पर्यटकीय गन्तव्य बन्यो । मानिसहरू खाजा खान र मनोरञ्जनका लागि सो क्षेत्रमा पुग्न थाले । नदी वरिपरि पार्क, साइकल ट्रयाक, क्रुज बोट र पिकनिक स्थलहरू भएकाले यो पर्यटक तथा स्थानीय मानिसहरूको लोकप्रिय घुम्ने ठाउँ बन्न पुग्ग्यो । त्यहाँ अहिले दैनिक ६४ हजार पर्यटकले भ्रमण गर्ने सिओल महानगरको भनाइ छ ।

फिर्केलाई त्यस्तै बनाउने चाहना

पोखरा महानगरपालिका–१८ अँधेरिकुनादेखि सुरु भएर पोखराका २, ४, ५, ७, ८ नम्बर वडा हुँदै पोखरा–६ फेवाताल–गाईघाटसम्म फैलिएको आठ किमि लामो फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ सहरी पहिचान दिने लक्ष्य राखिएको प्रमुख आचार्यले बताए । सन्दर्भ फिर्के करिडोर परियोजना भन्दै उनले यसको आगामी परियोजना फेसबुकमा राखेका छन् ।

“यो परिकल्पना केवल खोला संरक्षणको योजना मात्र होइन, पोखरालाई ‘हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहर’का रूपमा स्थापित गर्ने दूरदर्शी अभियान हो,” उनले भनेका छन् ।

फिर्के खोलाको दायाँ–बायाँ कम्तीमा ६ मिटर मापदण्ड कायम गर्दै व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, मर्निङ तथा इभिनिङ वाकका लागि आकर्षक पदमार्ग निर्माण गरिने उनले बताए ।

“खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुंगे तटबन्ध, स्मार्ट एलईडी लाइटिङ तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाइनेछ,” आचार्यले लेखेका छन् ।

करिडोरभित्र ठाउँ–ठाउँमा पोखरेली शैलीमा विश्राम स्थल, क्याफे, सेल्फी पोइन्ट र दृश्यावलोकन स्थल बनाइने उनको भनाइ छ ।

यसबाहेक सानो खुला पार्क तथा बस्ने चौतारी, सांस्कृतिक तथा कलात्मक संरचना, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र निर्माण गरिनेछ ।

यसले गर्दा फिर्के करिडोर केवल हिँड्ने बाटो मात्र नभई जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य बन्ने आचार्यको भनाइ छ ।

फिर्केखोलालाई पूर्ण रूपमा फोहोरमैला रहित, स्वच्छ र निरन्तर बग्ने अवस्थामार्फत पुनर्जीवन दिइने, वर्षायामबाहेक सुक्खा समयमा पनि खोलामा सफा पानीको बहाव कायम राख्न आवश्यक व्यवस्थापन गरिने, हिउँदको समयमा याम्दी खोलाको पानी मिसाई प्राकृतिक बहावलाई जीवन्त बनाउने अवधारणा समेत समेटिएको छ ।

“यो परियोजना सफल भएपछि फिर्केखोला केवल पानी बग्ने खोलाको रूपमा होइन, पोखरेली नागरिकको दैनिकी, विश्राम, मनोरञ्जन, स्वास्थ्य, पर्यटन र हरित भविष्यसँग जोडिएको जीवन्त सार्वजनिक सम्पत्तिका रूपमा स्थापित हुनेछ,” नगरप्रमुख आचार्यले भने ।

साथै, फिर्केको दायाँबायाँका सबै बासिन्दा स्वस्थ र आर्थिक हिसाबले पनि सम्पन्न बन्ने छन् । जग्गाजमिनको मूल्य कैयौँ गुणाले बढ्ने र त्यसको मुख्य फाइदा फिर्के किनारका बासिन्दालाई नै हुने उनको तर्क छ । आचार्यले विरोध/अवरोध नगरी परियोजना लागु गर्नतर्फ लाग्न पनि अनुरोध गरेका छन् ।

#विशन क्षेत्री

#पोखरा महानगरपालिका

#धनराज आचार्य

#फिर्केखोला

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)