विश्वयुद्धले बाह्र वर्षपछि मात्र चौथो विश्वकप
gorkhapatraonline.com · Mon May 25 01:30:29 GMT 2026
सन् १९५० को विश्वकप फुटबल प्रतियोगिता हुँदा दोस्रो विश्वयुद्धको विभीषिका ताजै थियो । युद्धको चपेटामा परेर नष्टप्रायः भएको युरोप आफूलाई त्रासदिका डोबबाट बाहिर निकालेर फेरि प्रगतिपथमा अगाडि बढाउने प्रयासमा लागिरहँदा एसियासमेत पीडाबाट मुक्त थिएन । यस कारण यस पटक विश्वकपको आयोजना गर्ने अवसर विश्वयुद्धको प्रभाव नपरेको दक्षिण अमेरिकाले पायो । विश्वयुद्धले १२ वर्षपछि मात्र चौथो विश्वकप हुन सकेको थियो । सन् १९३० मा उरुग्वेले पहिलो विश्वकपको आयोजना गरेको २० वर्षपश्चात् पुनः विश्वकपको आयोजना दक्षिण अमेरिकामा भित्रियो । यस पटक ब्राजिल विश्वकप आयोजना गर्ने राष्ट्र बन्यो ।
संसारलाई विश्वयुद्धमा होमेका कारण जर्मनी र जापान विश्वकपमा प्रतिबन्धित थिए । राजनीतिक कारणले गर्दा सोभियत सङ्घ, हङ्गेरी र चेकोस्लोभाकिया प्रतियोगिताबाट अलग बस्ने निर्णयमा पुगे । अर्जेन्टिनाले ब्राजिलको फुटबल सङ्घसँगको असहमतिका कारण छनोट चरणबाटै प्रतिस्पर्धा छाड्यो । यस्तै फ्रान्स र भारतले प्रतियोगितामा छनोट भएर पनि अन्य कारणले नखेल्ने निर्णय लिए । यस कारणले प्रतियोगितामा मात्र १३ टिमको सहभागिता रह्यो । फिफाको सदस्यता हासिल गरेकाले इङ्ग्ल्यान्ड पहिलो पटक प्रतियोगितामा सहभागी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)