मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

मनोरञ्जन

प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा

barnanmedia.com · Wed Jun 17 21:25:00 GMT 2026

बीबीसीले युवा पुरुष दर्शकमाझ लोकप्रिय अनुहारका रूपमा प्रस्तुत गर्दै आएका प्रस्तोता एस्ले केन विगतमा महिलामाथि अपमानजनक र महिलाविरोधी टिप्पणी गर्ने गरेको खुलासा भएको छ ।

द गार्डियनको विशेष रिपोर्टअनुसार केनले सामाजिक सञ्जालमा महिलाहरूलाई ‘फोहोरी’, ‘वेश्या’, ‘बहुलाही’ र ‘कुकुर्नी’ जस्ता अपमानजनक शब्द प्रयोग गरेका थिए । उनले महिलामाथि हिंसात्मक टिप्पणी गर्ने तथा यौनजन्य अपमानजनक अभिव्यक्ति प्रयोग गर्ने पोस्टहरू समेत सार्वजनिक गरेका थिए ।

पूर्वफुटबलर तथा रियालिटी टिभी स्टार केन हाल बीबीसी थ्रीको वृत्तचित्र शृङ्खला एस्ले केनः इन्टु द डेंजर जोनका प्रस्तोता हुन् । उक्त कार्यक्रमका लागि बीबीसीले दोस्रो शृङ्खलासमेत निर्माण गरिसकेको छ ।

रिपोर्टका अनुसार बीबीसीसँग काम सुरु गर्नुअघि केन सामाजिक सञ्जाल एक्स (त्यतिबेला ट्विटर) का सक्रिय प्रयोगकर्ता थिए । उनले विभिन्न पोस्टमा महिलाहरूलाई लक्षित गर्दै अपमानजनक भाषा प्रयोग गरेका थिए भने केही महिला प्रयोगकर्तालाई व्यक्तिगत रूपमा पनि अश्लील तथा अपमानजनक सन्देश पठाएका थिए ।

सन् २०१४ मा उनले एक महिला प्रयोगकर्तालाई लक्षित गर्दै यौनजन्य अपमानजनक टिप्पणी गरेका थिए । त्यस्तै, सन् २०१५ मा अर्की महिलालाई उनको तस्बिरको आलोचना गर्दै अपमानजनक भाषा प्रयोग गरेको उल्लेख गरिएको छ ।

यी पोस्टहरू लामो समयसम्म सार्वजनिक रूपमा उपलब्ध रहेकाले बीबीसीले केनलाई नियुक्त गर्नुअघि पर्याप्त पृष्ठभूमि जाँच गरेको थियो वा थिएन भन्ने प्रश्न उठेको छ । बुधबार राति केनको एक्स खाता भने प्लेटफर्मबाट हटाइएको देखिएको छ ।

केनले यस विषयमा टिप्पणीका लागि गरिएका अनुरोधहरूको जवाफ दिएका छैनन् । बीबीसीका प्रवक्ताले भने, ‘बीबीसीसँग काम गर्ने सबैबाट उच्च आचरणको अपेक्षा गरिन्छ । कुनै आरोप हाम्रो ध्यानमा आएमा हामी त्यसलाई गम्भीरतापूर्वक लिन्छौं । प्राप्त जानकारीको सावधानीपूर्वक समीक्षा गर्नेछौं,’ भनेका छन् ।

बीबीसी स्रोतका अनुसार संस्थालाई केनका पुराना सामाजिक सञ्जाल पोस्टबारे जानकारी थिएन ।

यस खुलासाले हालै मात्र बीबीसीको नेतृत्व सम्हालेका महानिर्देशक म्याट ब्रिटिनका लागि पहिलो ठूलो चुनौती सिर्जना गरेको विश्लेषण गरिएको छ । पछिल्ला वर्षहरूमा बीबीसीका केही प्रस्तोतासँग सम्बन्धित आचरणसम्बन्धी विवादहरू सार्वजनिक भएका थिए ।

विगतमा बीबीसीका अधिकारीहरूले केनको युवा पुरुषहरूसँग सम्बन्ध स्थापित गर्ने क्षमता ‘असाधारण’ भएको भन्दै प्रशंसा गरेका थिए । उनले सन् २०२५ मा बीबीसीको चर्चित कार्यक्रम सेलिब्रिटी मास्टरशेफ मा पनि सहभागिता जनाएका थिए र सेमिफाइनलसम्म पुगेका थिए ।

रिपोर्टमा केनले विगतमा महिलामाथि हिंसात्मक टिप्पणी गर्ने, यौनजन्य अपमानजनक अभिव्यक्ति प्रयोग गर्ने तथा महिलालाई हेप्ने दृष्टिकोण झल्किने पोस्टहरू गरेको उल्लेख गरिएको छ ।

यद्यपि ती टिप्पणीहरू धेरै वर्ष पुराना भए पनि अधिकांश पोस्ट एक दशकभन्दा बढी समयसम्म सार्वजनिक रूपमा उपलब्ध रहेकाले बीबीसीको छनोट तथा पृष्ठभूमि जाँच प्रक्रियामाथि प्रश्न उठेको द गार्डियनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

टिप्पणीहरू